स्वास्थ्य क्षेत्र सुधारका लागी रामेछापमा सरोकारवाला निकायसँग अन्तरकृया

स्वास्थ्य क्षेत्र सुधारका लागी रामेछापमा सरोकारवाला निकायसँग अन्तरकृया

स्वास्थ्य मन्त्रालयले रामेछापमा स्वास्थ्य क्षेत्र सुधारका लागी सरोकारवाला निकायसँग अन्तरकृया कार्यक्रम गरेको छ । बुधबार(आज) जिल्ला अस्पताल रामेछापको सभा हलमा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा समग्र जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्था र सुधार गर्नुपर्ने कुराहरुको बारेमा छलफल भएको हो ।

कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले जिल्ला अस्पतालमा दक्ष जनशक्तिको व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गनुभयो । “सुविधा सम्पन्न जिल्ला अस्पतालमा दक्ष जनशक्तिको व्यवस्था भए धेरै बिरामी उपचार गर्न यहाँ आउने थिए । यसमा मन्त्रालयले सहयोग गर्नुपर्छ” उहाँले भन्नुभयो ।

स्वास्थ्य क्षेत्रमा नगरपालिकाले समुदाय स्तरमा धेरै कामहरु गरेको भएपनि ठुला र देखिने कामहरु संघ र प्रदेश सरकारको सहयोग बिना गर्न नसकिने नगर प्रमुख न्यौपानेको भनाई छ । “हाम्रो नगरपालिकाको आन्तरीक आम्दानी निकै कम छ । हामीले गर्नुपर्ने कामहरु धेरै छन तर गर्न सकिएको छैन” उहाँको भनाई थियो । पछिल्लो समय दिर्घ रोगीहरु बढी रहेको भन्दै उहाँले यसको न्युनिकरणका लागी सरकारले विशेष अभियान नै संचालन गरेर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी काकीले अझै पनि दुर्गम ठाउँका धेरै महिलाहरु बाटोमै सुत्केरी हुने अवस्था रहेको बताउनुभयो । गरिबी,भौगोलीक विकटता,यातायातको समस्या र जनचेतनाको कमीले धेरै गर्भवती तथा सुत्केरी आमा र बच्चाहरुले अकालमा ज्यान गुमाउनुपरेको बताउनुभयो । स्वास्थ्य मन्त्रालयले योजना बनाउँदा यस्ता कुराहरुलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाई थियो । रामेछाप नगरपालिकाका ५ वटा विद्यालयमा नर्सको व्यवस्था रहेका बताउँदै उहाँले सरकारले सबै माध्यमिक विद्यालयहरुमा नर्सको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा रामेछाप नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापा,नगरपालिकाको स्वास्थ्य शाखा संयोजक विष्णु बहादुर कार्की र वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङ्गले पनि स्वास्थ्य क्षेत्रमा नगरपालिकाले गर्दै आएको काम र विभिन्न सुझावहरु राख्नुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार शाहले जिल्लामा स्वास्थ्य क्षेत्रमा भएको कामहरुको बारेमा जानकारी गराउँदै २ वर्षयता मातृ मृत्युदर शून्य रहेको बताउनुभयो । रामेछापका स्थानिय सरकारहरुले स्वास्थ्य क्षेत्रमा धेरै राम्रा कामहरु गरेको भन्दै उहाँले अझै पनि कतिपय स्वास्थ्य संस्थामा भवनको अभाव रहेको बताउनुभयो । भवनको अभाव रहेका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य मन्त्रालयले भवन निर्माण गर्न सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

जिल्ला अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा.केशव श्रेष्ठले अस्पतालको समस्याहरुको बारेमा जानकारी गराउनुभयो । उहाँले रामेछापमा सुविधा सम्पन्न जिल्ला अस्पताल भएपनि धेरै बिरामीहरु राजधानी केन्द्रित अस्पतालमा जाने गरेको बताउनुभयो । जिल्लामै राम्रो उपचार र सेवा पाइन्छ भन्ने कुरा थाहा नभएर धेरै नागरीकको समय र पैसा खर्च हुने गरेको उहाँले बताउनुभयो ।

अब सबै पालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई छलफलमा बोलाएर सबै पालिकाबाट बिरामीहरु जिल्ला अस्पतालमा रेफर गर्ने सेन्टर बनाउन लागिएको उहाँको भनाई छ । सदरमुकाम मन्थलीबाट रामेछाप बजार आउने सवारी साधनको समस्याले पनि अस्पतालमा बिरामीको संख्या घटेको मेसु श्रेष्ठले बताउनुभयो । उहाँले दिनमा ४ देखी ५ पटक रामेछाप मन्थली नगर बस चलाउन सके मात्रै पनि जिल्लाका धेरै बिरामीहरुले जिल्ला अस्पतालबाट सेवा लिन पाउने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख चुमनलाल दासले स्वास्थ्य क्षेत्रको सुधारका लागी दुर्गम जिल्लाहरुमा पुगेर समस्याहरु संकलन गर्ने काम भइहेको बताउनुभयो । सोही क्रममा रामेछापमा स्वास्थ्य क्षेत्रको अवस्था र सुधार गर्नुपर्ने कुराहरुको बारेमा सरोकारवालाहरुसँग सुझाव लिएको बताउनुभयो । सरोकारवालाहरुबाट आएका सुझावलाई स्वास्थ्य मन्त्रालयले अबको योजनामा समावेश गरेर काम गर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार