एक विद्यालय एक नर्स कार्यक्रम लागु भएपछि रामेछापका विद्यालयमा सहज

एक विद्यालय एक नर्स कार्यक्रम लागु भएपछि रामेछापका विद्यालयमा सहज

सरकारले विद्यालय नर्स कार्यक्रममार्फत माध्यमिक तहका सामुदायिक विद्यालयमा स्टाफ नर्स राख्नुपर्ने नियम बनाएको छ । अझैसम्म सबै विद्यालयले नर्स नराखे पनि नर्सको व्यवस्थापन गरेका विद्यालयका विद्यार्थीलाई भने यसले धेरै कुरामा सजिलो भएको छ । विद्यालयमा नियमित नर्स आउन थालेपछि सामान्य चोटपटक लाग्दा बिचैमा कक्षा छाडेर जानुपर्ने अवस्था अन्त्य भएको छ ।

यति मात्र नभइ महिनावारी र अन्य किशोरावस्थामा हुने शारिरीक परिवर्तन र जोखिमका बारेमा विद्यार्थीले राम्रोसँग बुझ्न पाएका छन् । मन्थली माविका छात्रा मनसुन लामाले नर्सले विद्यालयमा स्वास्थ्य र सरसफाइ सम्बन्धी जानकारी दिनुका साथै छात्रछात्राको प्राथमिक उपचार, यौनजन्य तथा शारिरीक हिंसाका साथै ‘गुड टच’, ‘व्याड टच’, आदि बारेमा पनि जानकारी दिने गरेका छन् ।

सुरुसुरुमा आफ्ना समस्या भन्न लजाउने गरे पनि विद्यार्थी अहिले आफ्ना समस्या खुलेर राख्न थालेको गौरीशंकर माध्यमिक विद्यालयका विद्यालय नर्स सुस्मिता खड्काले बताउनुभयो । विद्यालय नर्सबाट छात्रछात्राले स्वास्थ्य सम्बन्धी आफ्ना धेरै खुल्दुलीको उत्तर पनि पाएका छन् । जसले गर्दा उनीहरूले शिक्षक र अभिभावकलाईभन्दा विद्यालय नर्सलाई बढी विश्वास गर्न थालेका छन् ।

यस्तो देख्दा आफूहरूले गरिरहेको काम प्रति गर्व महसुस हुने मन्थली माध्यमिक विद्यालयका नर्स मञ्जु अधिकारीले बताउनुभयो । विद्यालय नर्सले विद्यालयमा स्वास्थ्य, पोषण, सरसफाइलगायत विषयमा जानकारी र परामर्श दिन थालेपछि त्यसको प्रभाव चौतर्फी देखिन थालेको छ ।

गौरीशंकर माविका प्रधानाध्यापक रामप्रसाद पौडेलले विद्यालयमा नर्सको व्यवस्था भएपछि विद्यार्थीको पठनपाठन नियमति गर्नदेखि बालविवाह रोक्नसमेत सहयोग पुगेको जानकारी दिनुभयो । रामेछापका केही सामुदायिक विद्यालयमा व्यवस्था गरिएको विद्यालय नर्सको सकारात्मक प्रभाव हेर्दा अन्य विद्यालयमा पनि नर्सको व्यवस्था तत्काल गर्नुपर्ने देखिएको शिक्षाविद्हरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार