मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

रामेछापको मन्थली नगरपालिकामा संचालित विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद चापागाईले नगरको प्रथम चौमासिक अबद्यिसम्म भएको कामहरुको बारेमा जानकारी गराउनुभयो ।

उहाँले यहि साउनदेखी हालसम्म नगरपालिका मार्फत संस्थागत विकास तथा सुशासनको क्षेत्रमा भएका कामहरु,आर्थिक विकास,समाजिक विकास,पूर्वाधार विकास आयोजना,विपद व्यवस्थापन र न्यायिक समिति मार्फत भएको प्रगति लगायत विभिन्न क्षेत्रमा भएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

सार्वजनिक सुनुवाईमा प्रगति प्रतिवेदन प्रस्तुत पछि कार्यक्रममा सहभागी नागरीकहरुले प्रश्न,जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए । नागरीकले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन र खानेपानी क्षेत्रसँग सम्बन्धित प्रश्न गरेका थिए । नागरीकहरुले सोधेको प्रश्नको जवाफ मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ,प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद चापागाइ र सम्बन्धित वडाका वडाअध्यक्षहरुले दिनुभयो ।

सो कार्यक्रममा नागरीकले सोधेको प्रश्नको जवाफ दिँदै मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले अब चाडै नगरका सबै वडा कार्यालयबाट राजश्व तिर्ने व्यवस्था गर्ने बताउनुभयो । सबै वडाका नागरिकलाई वडा कार्यालयबाटै राजश्व तिर्न सक्ने व्यवस्था गर्न नगरपालिकाले आवश्यक तयारी गरिरहेको उहाँले बताउनुभयो ।

नगरका सबै वडा कार्यालय,विद्यालय,स्वास्थ्य संस्था लगायतका संस्थाहरूमा इन्टरनेटको व्यवस्थापन गरिएको उहाँको भनाई । नगरपालिकाले वडा स्तरमा उत्पादन भएका कृषि उपजहरूको बजारीकरणका लागि सटही पसल सञ्चालनको तयारी गरिरहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । नगरपालिकाले व्यक्तिगत हितको भन्दा पनि सामूहिक हित हुने योजना तथा कार्यक्रमहरूलाई प्राथमिकता दिएर अगाडी बढिरहेको उहाँको भनाई छ ।

वडा नं १३ का वडा अध्यक्ष नवराज थापामगरको अध्यक्षता र मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । मन्थली नगरपालिका वडा नं १३ मा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण हजुरको रेडियोले गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार