प्रजिअ निरौलाले तोडाउन नसकेकी विनुको अनसन सहायक प्रजिअ कोइरालाले तोडाए

प्रजिअ निरौलाले तोडाउन नसकेकी विनुको अनसन सहायक प्रजिअ कोइरालाले तोडाए

आफ्नो पतिको घरमा बस्न पाउनुपर्ने माग राख्दै निरन्तर ६ दिनदेखि असन बस्दै आएकी बिनु यादव (कठायत)ले आज साँझबाट अनसन तोडेकी छिन् ।

आफ्नो पति प्रदिप कठायतको घरमा बस्ने व्यवस्था मिलाइदिनु प¥यो भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापको प्रवेशद्वार अघि गत माघ ७ गतेदेखि अनसन बसेकी रामेछापको मन्थली नगरपालिका वडा नं. १ बस्ने विनु यादव (कठायत)ले अनसनको छैठौँ दिन आज साँझ करिब ७ बजे अनसन तोडेकी हुन् ।

यसअघि विनुका पति प्रदिप कठायले जिल्ला अदालत रामेछापमा हालेको मुद्दामा जिल्ला अदालतले सम्बन्ध विच्छेद गरिदिएको थियो । त्यसपछि विनु उक्त फैसलाको विरुद्धमा उच्च अदालत पाटन गएकी थिइन्, उच्चले जिल्लाको फैसलालाई बदर गर्दै विनु र प्रदिपबीचको वैवाहिक सम्बन्धलाई पुनः कायम गरिदिएको थियो ।

त्यसपछि आफ्नो श्रीमान् प्रदिपको घरमा बस्न आएकी विनुलाई परिवारले बस्न नदिएपछि पतिको घरमा बस्ने व्यवस्था मिलाईदिनु भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापकी प्रमुख जिल्ला अधिकारीलाई गुहार्न पुगेकी थिइन् । त्यसपछि प्रमुख जिल्ला अधिकारी निरौलाले विनुका श्रीमान, ससुरा, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कानून व्यवसायी, पत्रकार, सञ्चारकर्मी, मानव अधिकारकर्मी, सामाजिक अभियान्ता, नागरिक समाज लगायतको व्यक्तिहरुको उपस्थितिमा विनुलाई उनको पतिको घरमा प्रवेश गराउने विषयमा पटक–पटक छलफल गरिन् । तर बैठकले सहमतिको कुनै विन्दु पर्गेल्न सकेन । बरु जनप्रतिनिधि, कानून व्यवसायीहरुकै कुरा बाझिएको थियो । कुनै जनप्रतिनिधि अनुमानको भरमा विनुको नियत ठीक नभएको र सर्वोच्चमा श्रीमानले हालेको सम्बन्ध विच्छेदको मुद्दा विचारधीन अवस्थामा रहेको देखाउँदै विनुलाई उनको पति प्रदिपको घरमा प्रवेश गराउन नमिल्ने र व्यवहारिक कुरा हेर्नुपर्ने बताउँदै थिए भने कुनै जनप्रतिनिध भने उच्चको फैसलाअनुसार विनु प्रदिपको पत्नी भएको हुँदा पतिको घरमा कानूनबमोजि प्रवेश गराउनुपर्ने जिकिर गरिरहेका थिए ।

सरकारी अधिवक्ताले विनुले कानूनी रुपमा पतिको घरमा बस्न पाउनुपर्ने र त्यसका लागि कानूनले कहीँ कतै रोकतोक नगर्ने बताएका थिए । तर ती अधिवक्तको कुरामा अधिकांश जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिले असमति प्रकट गर्दै व्यवहारिक पाटोलाई हरिनु पर्नेमा जोड दिँदै विनुलाई उनको पतिको घरमा राख्न नहुने निचोड निकालेका थिए ।

यसरी विभिन्न तर्क वितर्कमा विभाजित हुँदै विना निष्कर्ष टुंगिएको प्रशासनको बैठकको श्रृङ्खलाबारे विनु भने अनविज्ञ थिइन् । खयर जे भएपनि आफ्नो समस्या समाधान प्रशासनले गर्ला भन्ने क्षीण आशा बोकेर खुल्ला आकाश, चिसो सडकमा बसेकी विनुको अन्तर्मन र आँखाले भने न्यायको प्रतिक्षा गरिहेको देखिन्थ्यो । यस्तै बैठकको श्रृंङ्खला अघि बढ्दै जाँदा बिहिबार प्रमुख जिल्ला अधिकारीले जिल्लाका कानून व्यवसायी, मानव अधिकारकर्मी, पत्ररकार र सञ्चारकर्मीलाई बोलाएर छलफल गर्दै पत्रकारहरुप्रति नै आक्रोश पोख्दै अनि गहभरी आँशु पार्दै अब मैले यो विषय मिलाउन नसक्ने भएँ, हार खाएँ भन्दै हात जोडेर बिन्ती गरेकी थिइन् । विनुको अनसन तोडाउने विषयमा प्रजिअ निरौलाले देखाएको निरिहतालाई देख्दा कसैले पनि हामी मिलाउँछौँ यो विषयलाई भन्ने आट गर्न सकेनन् । केही मानव अधिकारकर्मीले हामीले हाम्रो घरमा लगेर राख्ने कुरा भएन, हामी पनि सक्दैनौँ भनेर प्रतिक्रिया दिएका थिए ।
न्यायको लागि माघ महिनाको शीतलहरसहितको चिसो रात अनि खुल्ला आकाशमुनि पानीसमेत मुखमा नपरेको शरीर चिसो सडकमा सुताउँदै न्याय पर्खिरहेकी थिइन् विनु । यस्तैमा विनुको अनसनको छैठौँ दिन शुक्रबार दिनभरजसो जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाको नेतृत्वमा मानव अधिकारकर्मी तथा अधिवक्ता पाण्डव प्रसाई, अधिवक्ता शिव कार्की र नवराज पथिकसहितको टोली विनुको अनसन तोडाउने विषयमा छलफलमा बस्यो ।

त्यसपछि उक्त टोलीले करिब साँझ ५ बजेपछि सहायक प्रजिअ कोइरालाको हस्ताक्षर रहेको “तपाईलाई शान्तिपूर्वक घरमा बस्ने वातावरण तयार गर्न जनप्रतिनिधिको रोहवरमा पटक–पटक तपाई र तपाईको श्रीमान लगायत परिवारसमेतलाई राखी छलफल गर्दा तपाई र तपाईका श्रीमान् प्रदिप कठायतबीचको सम्बन्ध विच्छेद मुद्दा हाल सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको भनी तपाईलाई घरमा बस्न दिन इन्कार गरेको, सोही विषयमा जनप्रतिनिधिको रोहवरमा जिल्लास्थित मानव अधिकारकर्मी, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरुसमेतको उपस्थितिमा छलफल गर्दा भएको निष्कर्ष एवम् जिल्ला सुरक्षा समितिको बैठकबाट समेत तपाई र तपाईको परिवारबीच समझदारीको लागि अधिकतम प्रयास गर्दा समेत शान्तिपूर्वक घरमा बस्ने सहज वातावरणको समझदारी कायम हुन नसकेको व्यहोरा आदेशानुसार जानकारी गराइन्छ ।” भन्ने व्यहोरासहितको पत्र विनुलाई थमाएको थियो । त्यसपछि विनु अनसन तोड्न राजी भइन् । अनसन तोड्दै विनुले रुदै भनिन् यति एउटा पत्रको लागि मलाई ६ दिन यो चिसो भूईमा सुताउनुभयो ?
यसअघि प्रमुख जिल्ला अधिकारी निरौलाले आफैँ हस्ताक्षर गरी दुई वटा पत्र विनुलाई थमाउँदै अनसन तोड्न अनुरोध गरेकी थिइन् । तर विनुले उक्त पत्रप्रति असहमति प्रकट गर्दै प्रजिअ निरौलाकै अघि च्यातेकी थिइन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार