महोत्सवमा पत्रकारलाई अभद्र व्यवहार गरेको भन्दै राष्ट्रिय दलित पत्रकार सङ्घको आपत्ति

महोत्सवमा पत्रकारलाई अभद्र व्यवहार गरेको भन्दै राष्ट्रिय दलित पत्रकार सङ्घको आपत्ति

राष्ट्रिय दलित पत्रकार सङ्घ जिल्ला शाखा रामेछापले रामेछाप सदरमुकाम मन्थलीमा जारी वृहत् रामेछाप महोत्सवमा आफ्ना सङ्घका अध्यक्ष लगायतका पत्रकारलाई धरपकड तथा अभद्र व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ ।

शनिवार राष्ट्रिय दलित पत्रकार सङ्घ जिल्ला शाखा, रामेछापका उपाध्यक्ष नवराज विश्वकर्माले एक प्रेस विज्ञप्ति निकालेर २०८० माघ ३ गते साँझको कार्यक्रममा आफू निकट पत्रकारलाई स्टेजबाटै तस्बिर तथा भिडियो खिच्न दिइरहेको आयोजकले राष्ट्रिय दलित पत्रकार सङ्घ जिल्ला शाखा, रामेछापका अध्यक्ष, सहित अन्य केही पत्रकारलाई समेत धरपकड तथा अभद्र व्यवहार गरी तस्बिर तथा दृश्य खिच्न नदिएको घटना आपत्ति जनाउनुभएको हो । एउटा व्यावसायिक संस्थाले आयोजना गरेको कार्यक्रममा भएको यस प्रकारको हर्कतको घोर भर्त्सना गर्दै सङ्घले यस्ता कार्य आगामी दिनमा नदोहो¥याउन आयोजकलाई चेतावनी समेत दिएको छ ।

विज्ञप्तिमा विशेषतः रामेछापवासीको आर्थिक, सांस्कृतिक, पर्यटकीय र सामरिक विकास तथा प्रवर्धनसँग जोडिएको ‘वृहत् रामेछाप महोत्सव, २०८०’ सबैको साझा उत्सव हुनुपर्नेमा आयोजकले सुरुवाती चरणदेखि नै आफू निकटका पत्रकार बाहेक अन्य पत्रकारहरूलाई विभेदपूर्ण व्यवहार गर्दै आएको कुरा सामाजिक सञ्जालमार्फत यसअघि पनि सार्वजनिक भएको थियो ।

यसरी पत्रकारलाई नै विभेदपूर्ण व्यवहार गर्दै आएको आयोजक टिमले कार्यक्रम स्थलमा केही पत्रकारहरूलाई दृश्य तथा तस्बिर खिच्न रोक लगाउँदै अभद्र व्यवहार गरेको घटनाप्रति राष्ट्रिय दलित पत्रकार सङ्घ जिल्ला शाखा, रामेछापको गम्भीर ध्यानाकर्षण भएको छ भनिएको छ ।

अतः आयोजकले आफू निकट पत्रकारलाई दैनिक मञ्चमा लगेर तस्बिर तथा दृश्य सङ्कलन गर्न दिने तर अन्य पत्रकारलाई आफ्ना आसेपासे लगाएर बल प्रयोग गरी असभ्य तवरले धरपकड गरी समाचार सङ्कलनको काममा हस्तक्षेप गर्ने कार्य सूचनाको हक तथा स्वच्छ प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो भन्ने हाम्रो ठहर छ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार