वृहत् रामेछाप महोत्सव सुरु,मुख्यमन्त्री जम्कट्टेलद्धारा उद्घाटन

वृहत् रामेछाप महोत्सव सुरु,मुख्यमन्त्री जम्कट्टेलद्धारा उद्घाटन

रामेछाप सदरमुकाम मन्थलीमा बिहिबारदेखी ११ दिने वृहत् रामेछाप महोत्सव २०८० सुरु भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेले महोत्सवको उद्घाटन गर्नुभयो ।

महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वाग्मती प्रदेश सरकारले कृषिमा आधारित उद्यमशीलता विकासको लागि प्रदेशभित्रका ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्ने तयारी गरिरहेको बताउनुभयो ।

उहाँले अब प्रदेशले कृषि उत्पादनको पकेट क्षेत्र घोषणा गरेको पालिकाबाट ठुलो परिणाममा कृषि तथा पशु उत्पादन गर्ने योजना रहेको पनि सुनाउनुभयो । उहाँले प्रदेश सरकारले अब धेरै सडकहरूको कालोपत्रे गर्ने योजना बनाएको र आफ्नो मुलुक विकासका लागि कुनै पनि आग्रह पूर्वाग्रह नराखी एकता साथ लाग्न सबैलाई आग्रह गर्नुभयो ।

रामेछाप उद्योग वाणिज्य सङ्घको अयोजनमा सुरु भएको वृहत् रामेछाप महोत्सवको उद्धघाटन कार्यक्रममा जिल्ला स्थित विभिन्न जातजातीहरुको झाँकी सहित वृहत र्याली प्रदर्शन गरिएको थियो ।

माघ ७ गतेसम्म हुने महोत्सवले जिल्लाभर उत्पादन हुने स्थानीय कृषि उत्पादनहरूको प्रवर्धन गरी खस्किँदै गरेको बजारलाई चलायमान बनाउन सहयोग पु¥याउने रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन थापा मगरले बताउनुभयो ।

६८ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान रहेको महोत्सवको ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सवमा रामेछाप जिल्लास्थित धार्मिक, पर्यटकीय स्थलहरुको अवलोकन गर्दै,तामाकोसी नदीमा व्याफटिङ्को आनन्द लिँदै महोत्सवमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता र बालबालिकाहरुको मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्था सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा गायन, नृत्य, हास्यव्याङ्ग्य प्रस्तुती हेर्दै स्थानीय खानाका परिकारहरुको स्वाद लिन सकिने छ ।

महोत्सवमा पालिका स्तरीय लोक दोहोरी प्रतियोगिताका साथै सस्तो अनि सुपथ मुल्यमा स्थानीय स्रोत साधनबाट उत्पादित हस्तकला सामग्री,कषि, घरेलु उत्पादनहरुको सामग्री खरिद गर्न सकिने छ । साथै महोत्सवमा विभिन्न जात जातिहरुको पारम्परिक झाँकी प्रदर्शन र साहित्यिक खुराकहरुको बेजोड प्रस्तुति समेत हेर्न पाईने आयोजक उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

“रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलश्रोत र पर्यटन तथा उद्योगको पूर्वाधार, हाम्रो रामेछाप, राम्रो रामेछाप“ भन्ने मूल नाराका साथ महोत्सव भैरहेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार