रामेछापमा जुनार उत्पादन बढ्यो तर बजारको समस्या

रामेछापमा जुनार उत्पादन बढ्यो तर बजारको समस्या

रामेछापमा यस वर्ष जुनार उत्पादन बढेको छ । रामेछाप जुनारका लागि प्रसिद्ध जिल्ला हो । यस वर्ष रामेछापबाट २० करोड रुपैयाँको जुनारको कारोबार हुने अनुमान गरिएको छ । ओख्रेनी, गाईटार, सुकाजोर, रामपुर, हिमगङ्गालगायत ठाउँका किसानका बगैँचा जुनारले पँहेलपुर बनेका छन् ।

जुनार किन्न र बगैँचा घुम्न आउने बढेका छन् । पोहोर परार जुनारमा रोग किरा देखिएका कारण उत्पादन घटेको थियो । तर यस वर्ष प्रधानमन्त्री आधुनिकिकरण परियोजनाको जुनार जोन कार्यक्रम मार्फत रोग किरा नियन्त्रण भएपछि यस वर्ष उत्पादन बढेको छ । किसानले जुनार बगैँचाबाटै किलोको ५० देखि ६० रुपैयाँमा बिक्रि गरिरहेका छन् ।

सरकारले बजारको खोजी गर्न सहयोग गरे थप मूल्य पाउन सकिने किसान परशुराम तामाङले बताउनुभयो । रामेछापमा जुनार उत्पादन बढाउन र थप बजार खोजी गर्न नर्सरी व्यवस्थापनदेखि जुनारको बजारीकरणसम्मको काम भइरहेको सरकारको भनाइ छ । रामेछापमा उत्पादित जुनारको ब्रान्डिङ, लेभलिङ र प्याकेजिङ गरी गुणस्तरीय जुनार बजार पठाउने तयारी भइरहेको प्रधानमन्त्री आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ रामेछापका प्रमुख थिरलाल गैरेले बताउनुभयो ।

रामेछापमा ९ सय हेक्टरभन्दा बढी क्षेत्रमा जुनार खेती गरिएको छ । यस वर्ष करिब ४५ सय मेट्रिक टन जुनार उत्पादन हुने अनुमान गरिएको छ । जसबाट करिब २० करोडको कारोबार हुने छ । रसिलो र स्वादिलो जुनारले रामेछापलाई चिनाएको मात्र छैन आर्थिक रुपमा पनि सम्बृद्ध बनाउनसमेत सघाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार