चालु आव २०८०/८१ को हालसम्म रामेछाप नगरपालिकाको प्रगति २०.८६ प्रतिशत

चालु आव २०८०/८१ को हालसम्म रामेछाप नगरपालिकाको प्रगति २०.८६ प्रतिशत

रामेछाप नगरपालिकाको चालु आर्थिक बर्ष २०८०/८१ को हालसम्म अर्थात पहिलो चौमासिक अबद्यिसम्म २०.८६ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । नगरपालिकामा संचालित विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार (आज) सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका बरिष्ठ शाखा अधिकृत एवम सुचना अधिकारी होम बहादुर थापाले नगरको प्रथम चौमासिक अबद्यिसम्म भएको कामहरुको बारेमा जानकारी गराउनुभयो ।

समग्रमा रामेछाप नगरपालिकाको चालु आ.व २०८०/८१ मा चालु तर्फ रु ५० करोड ८१ लाख ५३ हजार ९ सय ४५ र पूँजीगत तर्फ रु २५ करोड ५ लाख ५३ हजार ६ सय ९६ गरी जम्मा रु ७५ करोड ८७ लाख ७ हजार ६ सय ४१ रुपैयाको बार्षिक योजना तथा कार्यक्रम रहेकोमा हालसम्म चालु तर्फ १४ करोड ३ लाख ६७ हजार ८ सय ९९ अर्थात २७.६२ प्रतिशत खर्च भएको देखिन्छ । पूँजीगत तर्फ १ करोड ७१ लाख १ हजार ६ सय ९१ अर्थात ७.१४ प्रतिशत मात्र खर्च भएको देखिन्छ । यस अनुसार चालु र पूँजीगत गरी हालसम्म २०.८६ प्रतिशत वित्तीय प्रगति हासिल भएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

बरिष्ठ शाखा अधिकृत थापाले यहि साउनदेखी हालसम्म नगरपालिका मार्फत स्वास्थ्य,पूर्वधार विकास,कृषि विकास, सामाजिक सुरक्षा तथा पन्जिकरण कार्यक्रमको प्रगति, शिक्षा युवा तथा खेलकुद शाखा, सुचना प्रविधि, खानेपानी तथा सरसफाइ, पशु सेवा शाखा, प्राविधिक शाखा, सडक निर्माण, खानेपानी निर्माण, सिचाइ निर्माण, राजश्व संकलन, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा,न्यायिक समितिको प्रगति लगायत विभिन्न क्षेत्रमा भएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सार्वजनिक सुनुवाईमा प्रगति प्रतिवेदन प्रस्तुत पछि सहभागी सबैले जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए । कार्यक्रममा रामेछाप नगरपालिकाका नागरीकहरु अरुण कार्की,लाल बहादुर तामाङ्ग,तुलसा कार्की,कुबेर श्रेष्ठ,राम ब थापा लगाएतले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन र पर्यटन क्षेत्रसँग सम्बन्धित प्रश्न गरेका थिए ।

उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष बद्रि नयाँघरे,रास्वपाका नेता दुर्गा बहादुर बस्नेत,माओवादी केन्द्रका नगर उपाध्यक्ष राम विष्णु बस्नेत,नेकपा एमालेका नगर अध्यक्ष रोशन पाख्रिन र नेपाली कांग्रेसका नगर सचिव सुशिलहरी बख्रेलले नगरपालिकालाई विभिन्न सुझाव सहितको मन्तव्य राख्नुभयो । उहाँहरुले नगरले गर्ने हरेक कामहरु निस्पक्ष र पार्दर्शी हुनुपर्ने बताउनुभयो ।

नागरीकहरुले सोधेको प्रश्नको जवाफ रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने,प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरे र नगरपालिकाका प्रबक्ता समिर कार्कीले दिनुभएको थियो ।

हजुरको रेडियोले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की,विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधी,विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी,वडाअध्यक्षहरु,पत्रकार,नगरपालिकाका कर्मचारी,नागरीक लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार