करिब पाँच करोडको लागतमा रामेछापमा शान्ति योगाश्रम बन्ने

करिब पाँच करोडको लागतमा रामेछापमा शान्ति योगाश्रम बन्ने

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ डुकुरसिंह पर्यटन क्षेत्रमा शान्ति योगाश्रम बन्ने भएको छ । भारतीय राजदूतावासको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लागतमा बन्न लागेको शान्ति योगाश्रम भवनको शिल्यान्यास गरिएको छ ।

संघीय सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम),रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने र भारतीय राजदूतावासका द्धितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा भवनको शिल्यान्यास गर्नुभयो ।

भवन शिल्यान्यास कार्यक्रममा बोल्दै संघीय सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम) ले जिल्लाको पर्यटन प्रबद्धनसँग जोडिएको डुकुरसिंह डाँडामा योगाश्रम बन्नु खुशीको कुरा भएको बताउनुभयो । शान्त र आनन्दित यो क्षेत्रमा योगाश्रम बनेपछि नेपालका मात्रै नभएर भारतका पनि धेरै मानिसहरु योगा गर्न आउने वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले पर्यटन क्षेत्रमा उच्च सम्भावना बोकेको डुकुरसिंह डाँडामा भारतीय राजदूतावासले लगानी गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय नगरपालिकाले पनि पर्यटकिय क्षेत्रहरुको विकासका लागी विभिन्न योजनाहरु बनाएको बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै भारतीय राजदूतावासका द्धितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारले नेपालको सांस्कृतीक विकासलाई जहिले पनि प्राथमिकतामा राख्ने गरेको भन्दै आगामी दिनहरुमा पनि यस्ता सहयोगहरुलाई निरन्तरता दिने बताउनुभयो ।

मलागिरी विकास केन्द्रका अध्यक्ष हिरण्य प्रसाद पौडेलको पहलमा उक्त शान्ति योगाश्रम ४ करोड ८४ लाख १३ हजार ३ सय १२ रुपैयाँ लागतमा बन्न लागेको हो । उक्त भवन निर्माणको जिम्मा एस रामेछाप कन्स्ट्रक्सन प्रालीले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार