सेवाको गुणस्तरमा सुधार गर्दै विरामीको भरोसा बढाउन सफल जिल्ला अस्पताल रामेछाप

सेवाको गुणस्तरमा सुधार गर्दै विरामीको भरोसा बढाउन सफल जिल्ला अस्पताल रामेछाप

सरकारी स्वास्थ्य संस्थाको गुणस्तर गतिलो नहुने भन्दै उपचार र स्वास्थ्य परीक्षणका लागि नीजि अस्पताल र क्लिनीकमा जाने क्रम बढ्दो छ । तर, केही सरकारी अस्पतालले भने सेवाको गुणस्तरमा सुधार गर्दै विरामीको भरोसा बढाउन सफल पनि भएका छन् । यस्तैमध्येको एक हो जिल्ला अस्पताल रामेछाप ।

पछिल्लो समय गुणस्तरीय स्वास्थ्य सेवा पाउन थाले पछि जिल्ला अस्पताल रामेछापमा सेवाग्राही बढ्न थालेका छन् । अस्पतालमा दैनिक १ सयभन्दा धेरै विरामी पुग्ने गरेका छन् । भौतिक संरचना र उपकरणका साथमा विभिन्न विशेषज्ञ सेवा पनि थप भएसँगै अस्पतालको सेवा राम्रो भइरहेको सेवाग्राहीको अनुभव छ ।

मन्थली नगरपालिका ३ का हरिबहादुर रोकाका अनुसार अस्पतालप्रती नागरीकहरुको विश्वास बढदै गएको छ । अस्पतालमा आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सेवा सुरु भएदेखि प्रसुती सेवा लिनेको संख्या समेत बढेको छ । ३ वर्ष अघिको तुलनामा अहिले प्रसुती सेवा लिनेको संख्या दोब्बरले बढेको अस्पतालको तथ्याङ्क छ ।

अस्पतालका प्रसुती रोग विशेषज्ञ डाक्टर मनोज यादवका अनुसार १ सय भन्दा बढी महिलाहरुको शल्यक्रिया मार्फत बच्चा जन्माइएको छ । जिल्ला अस्पताल रामेछापमा अहिले जनरल ओपीडीका साथै प्रसूति शल्यक्रिया, अक्सिजनसहितको स्वास्थ्य सेवा, डाइलसिसका साथै, हर्नियाँ, हाइड्रोसिल, दाँत र आँखाको उपचार सेवा, लगायतका स्वास्थ्यसेवा उपलब्ध छन् ।

अस्पतालमा भदौ १ गतेदेखी जनरल शय्या निःशुल्क गरेको छ । अस्पतालका नर्सिङ अधिकृत आस्था कुँवरका अनुसार जाडो महिना सुरुभएयता निमोनिय तथा दमका बिरामीहरु अस्पताल भर्ना भएका छन । जिल्ला अस्पताल रामेछापमा पछिल्लो समय विशेषज्ञ डाक्टरसहितको उपचार सुरु भएको छ ।

यस्तै, कतिपय नयाँ उपकरण पनि ल्याइएकाले स्वास्थ्य सेवाको गुणस्तर बढेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर केवश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा भेन्टिलेटरको मेसिन आइसकेकाले अब छिटटै आईसियु सेवा पनि सुचारु हुने छ । अहिले १५ शय्याको रहेको यो अस्पताललाई अब ५० शय्याको बनाउने प्रक्रिया समेत अघि बढाइएको अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार