रामेछापमा सस्तोमा डलर दिने भन्दै ५ लाख ठगी

रामेछापमा सस्तोमा डलर दिने भन्दै ५ लाख ठगी

नेपाली रुपैयाँ दिएर अमेरिकी डलर साट्दा चलन चल्तीको भन्दा बढी रकम पाइने आश्वासन पाएका दैलेखका एक व्यक्ति शनिबार रामेछापको राकाथुम आएर ठगिएका छन् ।

खाँडादेवी गाउँपालिका–१ राकाथुमका दलबहादुर लामा र उनका साथीले दैलेख ठाडीकाद गाउँपालिका–४ का प्रदीप कठायतलाई ठगी गरेका हुन् । उनी नेपाली रुपैयाँ १ लाखमा १ हजार अमेरिकी डलर पाउने लोभमा ५ लाख नेपाली रुपैयाँ बोकेर राकाथुम आएका थिए ।

लामाले जम्मा ६ हजार दिएर ५ लाख नेपाली रुपैयाँ लिइ फरार भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताउनुभयो ।

शनिबारको विनिमय दरअनुसार १ डलर बराबर नेपाली रुपैयाँ १ सय ३२ रुपैयाँ ७९ पैसा रहेको छ । प्रहरी नायव उपरीक्षक पराजुलीका अनुसार लामाले तलमाथि डलर राखेर बीचमा नेपाली २० रुपैयाँको मुठो बनाई बाँधेर कठायतलाई बोलाएका थिए । राकाथुमको खैरेनीघाट नजिक जंगलमा पैसा लेनदेन भएपछि लामाले त्यो पोका अहिले नखोल्न भनेका र आफू ५ लाख लिएर हिँडेको प्रहरीले जनाएको छ ।

कठायतले सिन्धुलीको नेपालथोक पुगेर पोका फुकाई हेर्दा बीचमा नेपाली बीस रुपैयाँको गड्डी देखेपछि आफू ठगिएको भन्दै प्रहरीकोमा पुगेका थिए । प्रनाउ पराजुलीका अनुसार पैसा लिएर फरार भएका लामा र उनका साथीको खोजतलास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार