रामेछाप नगरपालिकामा भत्ता खाने अपाङ्ग १ सय ८६ जना मात्रै

रामेछाप नगरपालिकामा भत्ता खाने अपाङ्ग १ सय ८६ जना मात्रै

रामेछाप नगरपालिकामा यसअघि सामाजिक सुरक्षा भत्ता रकम बुझ्दै आएका अपाङ्गको संख्या घटेको छ । गएको वर्षसम्म रामेछाप नगरपालिकामा ३ सय ७२ जनाले अपाङ्गले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका थिए ।

नगरले सपाङ्गलाई पनि अपाङ्ग परिचयपत्र दिएर सामाजिक सुरक्षा भत्ता खुवाएको भन्दै स्थानियले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पेश गरेपछि सो बिषयमा रामेछाप नगरपालिकाले चिकित्सक सहितको टोलीले अद्यावधिक गरेको थियो । परिचय पत्र अद्यावधिक गर्ने क्रममा ३ सय ७२ जनाबाट घटेर १ सय ८६ जनालाई मात्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरी परिचयपत्र वितरण गरिएको छ ।

जसमा क वर्गको रातो परिचय पत्र पाउनेमा ६० जना रहेका छन् भने ख वर्गको निलो परिचय पत्र पाउनेको अपाङ्गको संख्या १ सय २६ जना रहेका छन् । त्यस्तै भत्ता नपाउने तर अपाङ्गको परिचयपत्र लिने ग वर्गको पहेलो परिचयपत्र पाउनेको संख्या ५५ रहेको छ भने घ वर्गको सेतो परिचय पत्र पाउनेको संख्या ३० जना रहेका छन् । यसवाहेक १४ जनाको परिचयपत्र भने बनेन । उनीहरुले परिचयपत्रको लागि आवश्यक कागजात पुर्याउन नसकेपछि परिचयपत्र बन्न सकेन ।

रामेछाप नगरपालिकामा पहिलो स्थानिय निर्वाचनपछि कार्यभार सम्हालेका जनप्रतिनिधिहरुले कार्यपालिकाको वैठकवाट कार्यविधि पारित गरेपछि ख र ग मा परेका अपाङ्गहरुले क को परिचयपत्र बनाइर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका थिए । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणमा विभेद गरेको भन्दै स्थानिय नागरिकहरुले अख्तियारमा उजुरी दिएपछि नगरले सो सम्वन्धमा चिकित्सक सहितको टोली गठन गरि अद्यावधिक गर्ने कामको थालनी गरेको थियो ।

यता रामेछाप नगर कार्यपालिकाको बैठकले अघिल्लो नेतृत्वले थप गरेको कार्यविधि खारेज गरी यही साउन महिना देखिनै लागु हुने गरी अपाङ्ग भत्ता वितरणको काम स्थगन गरी दसैँ लगत्तै विज्ञ चिकित्सक सहितको रोहवरमा परिचय पत्र अद्यावधि शिविर सञ्चालन गरेको नगर अपाङ्ग समन्वय समितिकी संयोजक तथा रामेछाप नगरकी उप–प्रमुख बाला कुमारी कार्कीले जानकारी दिनुभयो ।

रामेछाप नगरपालिकाले गएको आर्थिक वर्षको अन्तिमसम्म रामेछाप नगर भित्र क वर्गका अपाङ्ग २ सय ४० ख वर्गका अपाङ्ग १ सय ३२ ग वर्गका अपाङ्ग ३१ जना र घ वर्गका २० जना मात्र रहेका थिए । तर एक हप्ताको परिचय पत्र अद्यावधि शिविरपछि सामाजिक सुरक्षा भत्ता पाउने अपाङ्गहरूको सख्या घटेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार