अपाङ्ग परिचय पत्र अद्यावधिक गर्दै रामेछाप नगरपालिका

अपाङ्ग परिचय पत्र अद्यावधिक गर्दै रामेछाप नगरपालिका

रामेछापको रामेछाप नगरपालिकाले अपाङ्गता भएकाहरुको परिचय पत्र शिविर मार्फत अद्यावधिक गरिरहेको छ । अपाङ्ग नभएका केही व्यक्तिहरुले भत्ता खाइरहेको पाइएपछि नगरपालिकाले पहिले जारी भएको सबै परिचय पत्र रद्ध गरेर नयाँ परिचय पत्र जारी गर्न थालेको हो ।

अहिले नगरभरीका सबै अपाङ्ग भएका व्यक्तिहरुलाई जिल्ला अस्पताल रामेछापमा ल्याएर परीक्षण गर्ने काम भैरहेको रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले बताउनुभयो ।

९ वटै वडाहरुमा रहेका सबै अपाङ्गता भएकाहरुलाई चिकित्सक सहितको टोलिले परीक्षण गरेर कुन वर्गको परिचय पत्र प्राप्त गर्ने हो सोही अनुसार वितरण गरिने उहाँले बताउनुभयो । यसभन्दा अघि केही सपाङ्ग व्यक्तिहरुले गाउँ गाउँमा शिविर संचालन भएको बेला नाटक गरेर अपाङ्ग बनेर भत्ता खाइरहेको पाइएको उहाँले बताउनुभयो ।

वास्तविक अपाङ्गता भएका व्यक्तिले मात्रै भत्ता प्राप्त गरुन भनेर अस्पतालमै ल्याएर परीक्षण तथा पहिचान गर्ने काम गरेको महिला तथा बालबालिका शाखा प्रमुख विमला कुमारी शर्माको भनाई छ ।

सबै वडा कार्यालयहरुले आ–आफनो वडाबाट गाडीको व्यवस्था गरेर अपाङ्गता भएकाहरुलाई परीक्षणको लागी अस्पताल ल्याउने र लैजाने काम गरेको रामेछाप नगरपालिका वडा नं ३ का वडाअध्यक्ष दल बहादुर प्रधानले बताउनुभयो । यहि कार्तिक १३ गतेदेखी सुरु भएको परिचय पत्र अद्यावधिक शिविर कार्तिक १९ गतेसम्म संचालन हुने रामेछाप नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार