धादिङ,२७ असार ।
धादिङमा मास्क नलगाइ हिँडडुल गर्ने ३२ जनालाई प्रहरीले कारवाही गरेको छ । शुक्रबार मास्क नलगाई हिड्ने ३२ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । पक्राउ पर्नेमा ७ जना महिला र २५ जना पुरुष रहेका छन् । पक्राउ परेकाहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार जनही एक सयका दरले जरिवाना गरी सम्झाई बुझाई गरेर छाडीएको उहाँले बताउनुभयो।
कोभिड–१९ को नियन्त्रण, रोकथामको लागी जारी बन्दाबन्दीमा स्वास्थ्य सुरक्षाका मापदण्ड प्रयोग नगर्ने प्रवृतिले जोखिम भयावह हुने अवस्था विद्यमान रहेकोले घर बाहिर निस्कदा सामाजिक दुरी कायम गरी अनिवार्य रुपमा मास्कको प्रयोग गरेर मात्र हिंडडुल गर्न प्रहरीले आग्रह गरेको छ ।
सोमबार गृहमन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राऊ गर्न निर्देशन दिएको छ । सरकारले लकडाउन केही खुकुलो बनाएको तर खुकुलो बनाएपनि केही शर्तहरु तोकेको थियो। मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, बिनाकाम बाहिर ननिस्कन भनेको थियो,यही सर्तका आधारमा लकडाउन खुकुलो भएको हो तर, यहाँ मानिसहरु बिना काममा बाहिर निस्कने, भिडभाड भएर जम्मा हुने मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने देखियो र संक्रमणको जोखिम बढ्यो त्यसैले कडाई गर्न लागिएको गृहमन्त्रालयका उपसचिव तथा सूचना अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।


			
                                    
                                    
                                    
                                    
                                    
                                    