अख्तियारद्वारा गत वर्ष ६ वटा संस्थासहित ७७६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारद्वारा गत वर्ष ६ वटा संस्थासहित ७७६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७९/०८० मा ६ वटा संस्थासहित ७७६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत वर्ष १६२ वटा भ्रष्टाचारका मुद्दामा ७७६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरिरएको अख्तियारले जनाएको छ । आयोगका प्रवक्ता भोला दाहालले पत्रकार सम्मेलन गर्दै विशेष अदालतमा दायर मुद्दामध्ये सबैभन्दा बढी सङ्घीय मामिला मन्त्रालय र स्थानीय तहका भ्रष्टाचारसम्बन्धी रहेको बताउनुभएको छ ।

प्रवक्ता दाहालका अनुसार ३६ प्रतिशत मुद्दा सङ्घीय मामिलाका रहेको छन् । दास्रोमा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका छन् । गत वर्ष दायर भएका कुला १६२ मुद्दा मध्ये सबैभन्दा बढी ६४ वटा मुद्दा गैरकानुनी लाभ वा हानिसँग सम्बन्धी छन् । त्यस्तै ३२ वटा मुद्दा घूससँग सम्बन्धित छन् भने सार्वजनिक सम्पत्ति हानि नोक्सानीका २७ वटा मुद्दा दायर गरिएको छ ।

भ्रष्टाचार मु्द्दा लागेका ७६६ मध्ये एक जना विशिष्ट श्रेणीका, २१४ जना अधिकृतस्तर, १४४ अन्य छन् छन् । एक वर्षमा ७६६ जनाबाट १ अर्ब ७५ करोड २१ लाख ६ हजार ६ सय ३४ रुपैयाँ बिगो मागदाबी गरिएको छ । यस्तै आयोगले गत आर्थिक वर्षमा विस्तृत अनुसन्धान गरेका ६५६ वटा उजुरी तामेलीमा राखेको छ ।

अख्तियारले राष्ट्रपतिलाई बुझाएको बार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९÷०८० मा २० हजार ९०५ वटा उजुरी आएका थिए । अघिल्लो वर्षबाट सरेको ७ हजार १६२ उजुरी पनि थियो । एक वर्षमा १८ हजार ७७९ वटा उजुरीको प्रारम्भिक छानबिन गरिएको अख्तियारले जनाएको छ । जसमध्ये १ हजार १३३ वटा उजुरीमाथि विस्तृत अनुसन्धान गरिएको छ । यस्तै आयोगले ९ हजार ६४५ उजुरी उपर कानुन बमोजिम अन्य आवश्यक कारबाहीका लागि लेखी पठाइएको प्रवक्ता दाहालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार