रामेछापमा २ वर्षदेखी स्मार्ट टेलिकम घर भाडा नतिरेर सम्पर्क बिहिन

रामेछापमा २ वर्षदेखी स्मार्ट टेलिकम घर भाडा नतिरेर सम्पर्क बिहिन

रामेछापमा २ वर्षदेखी स्मार्ट टेलिकम घर भाडा नतिरेर सम्पर्क बिहिन भएको छ । रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा मनिकलाल श्रेष्ठको घरको छत र एउटा कोठा भाडामा लिएर केही वर्ष संचालनमा रहेको स्मार्ट टेलिकम अहिले सम्पर्क बिहिन छ । १० वर्षअघि ५ वर्षको सम्झौता गरेर घरको छतमा टावर बनाउन दिएको र एउटा कोठा समेत भाडामा लिएको स्मार्ट टेलिकम २ वर्षभन्दा बढी समयदेखी सम्पर्क बिहिन भएको मनिकलाल श्रेष्ठले बताउनुभयो ।

२ वर्षअघिसम्म हरेक ३/३ महिनामा घरभाडा दिँदै आएको भएपनि त्यसपछि स्मार्ट टेलिकमका कोही पनि कर्मचारी सम्पर्कमा नआएको उहाँले बताउनुभयो । स्मार्ट टेलिकमले श्रेष्ठलाई महिनाको ८ हजार रुपयाँ घरभाडा तिर्दै आएको थियो । अहिले न भाडा आउँछ न कुनै कर्मचारी नै सम्पर्कमा छन श्रेष्ठले भन्नुभयो ।

नेपाल विद्युत प्राधिकरण रामेछापले विद्युतको महसुल भुक्तानी नगरेको भन्दै १ वर्ष अघि नै विद्युतको लाईन काटेको घरधनी श्रेष्ठले बताउनुभयो । स्मार्ट टेलिकमले टावर सहितका सबै उपकरणहरु छोडेर बेपक्ता भएपछि २ लाखभन्दा बढी घरभाडा कसरी उठाउने भन्ने चिन्ता थपिएको घरधनी श्रेष्ठले बताउनुभयो ।

घरको छतमा रहेको टावरले घर नै जोखिममा परेको भन्दै श्रेष्ठले कसरी टावर भत्काउन सकिन्छ भन्ने उपाय खोजिरहेको पनि बताउनुभयो । सरकारले तोकिएको समयभित्र नवीकरण गर्न नसकेपछि दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकमको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र भने केही महिना अघि स्वतः खारेज भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार