रामेछाप सदरमुकाम मन्थलीका चार औषधि पसललाई जरिवाना

रामेछाप सदरमुकाम मन्थलीका चार औषधि पसललाई जरिवाना

रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा चार औषधि पसललाई जरिवाना गरेको छ । शुक्रबार भएको अनुगमनमा म्याद नाघेका र प्रतिबन्धित औषधिसमेत फेला परेपछि पहिलो पटकलाई जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालय रामेछापले जनाएको छ ।

कार्यालयका प्रमुख सुबोधकुमार साह कर्मयोगीका अनुसार शुक्रबार मन्थलीका ७ वटा औषधि पसलमा अनुगमन भएकोमा ४ वटामा औषधिको बिक्री वितरण गर्ने ईजाजत प्राप्त व्यक्ति नभएको र म्याद नाघेका औषधि भेटिएका थिए ।

साँकुरा मेडिकल हललाई २५ हजार, संजिवनी ड्रग हाउसलाई १० हजार, दिप्सन फार्मेसीलाई १० हजार र कोइराला औषधि पसललाई २ हजार जरिवाना गरिएको उहाँले बताउनुभयो ।

उक्त औषधि पसलहरुलाई प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०६० को खण्ड क, ख र ण बमोजिम जरिवाना गरिएको हो । अनुमतिबिनाका औषधि बिक्री वितरणमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, घरेलु, उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघका प्रतिनिधि समेतको सहभागितामा केही दिनदेखि विभिन्न व्यवसायको अनुगमन भइरहेको छ ।

ईरामेछाप डटकम अनलाईनमा श्रावण ३० गते रामेछापमा चिकित्सकको सिफारिसबिना नै औषधि बिक्री शिर्षकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा जिल्लामा खाध्यान्न पसलहरुको अनुगमन पटकपटक हुने गरेको भएपनि औषधि पसलको अनुगमन नभएको नागरीकको गुनासोलाई समेटिएको थियो । सोही समाचारको प्रभावले शुक्रबार मन्थलीको औषधि पसलहरुको अनुगमन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार