समाजवादी रामेछापका अध्यक्ष रमेश बस्नेत एमालेमा फर्किए

समाजवादी रामेछापका अध्यक्ष रमेश बस्नेत एमालेमा फर्किए

नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेश कुमार बस्नेत पुनः नेकपा एमालेमा नै फर्किनुभएको छ । नेकपा एमाले रामेछापले आइतवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा गरेको एक कार्यक्रमको बिच अध्यक्ष बस्नेत एमालेमा नै फर्किनुभएको हो ।

बस्नेतलाई एमाले महासचिव शंकर पोखरेले पार्टी प्रवेश गराउनुभयो । बस्नेतले मन्थली नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा जिल्ला विकास समिति रामेछापका पूर्व सभापति र उपसभापति समेत भएर काम गरिसक्नुभएको छ ।

यसअघि आफुले नेकपा एकिकृत समाजवादीले राम्रो गर्ला की भनेर उता लागेको तर समाजवादीका केन्द्रिय अध्यक्ष माधव नेपाल नेपाली काँग्रेसको पछि लाग्नु सिवाए अरु केही गर्न नसकेको र नेकपा एमाले नै समाप्त गर्न लागि परेकाले उक्त पार्टीबाट जनता, देश र कम्युनिष्टको विचार बोक्न नसेकाले आफु पुनः नेकपा एमालेमा नै फर्किएको उहाँले बताउनुभयो ।

उहाँले आफू एमाले प्रवेश गरेको नभई बाहिर जाँदा विभिन्न हण्डर र ठक्कर खाएका कारण आफ्नै पार्टीमा फर्किएको बताउनुभयो । उहाँले आफू एमालेमा कुनै भाग लिन नभई पार्टीको सेवा गर्न एमालेमा फर्किएको प्रष्ट पार्नुभयो । उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका उपाध्यक्ष केशव दाहाल, नेकपा एकीकृत समाजवादीका नेता र कार्यकर्ताहरु समेत एमाले प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार