सुनको सिक्री लुट्ने रामेछाप लिखुतामाकोशीका एक सहित गिरोह नै पक्राउ

सुनको सिक्री लुट्ने रामेछाप लिखुतामाकोशीका एक सहित गिरोह नै पक्राउ

काठमाण्डौमा महिलाहरूको सुनको सिक्री लुट्ने रामेछापका एक सहित गिरोह नै पक्राउ परेका छन । ’मर्निङ वाक’ मा निस्किने महिलाहरूलाई सुनियोजित ढङ्गले पछ्याएर सिक्री लुट्ने पाँच जनाको गिरोहलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनीहरूले २० दिनमा आठ जना महिलाको सिक्री लुटेका कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा लुटपाटका मुख्य योजनाकार काभ्रेको पाँचखाल नगरपालिका–७ घर भएका उमेश क्षेत्री, चोरी गर्ने रामेछापको लिखु गाउँपालिका–१ का रवीन दमाई, सुनसरीको धरानका रवि विक, धनकुटाका राहुल माझी र चोरीको सुन खरिद गर्ने भारतको पश्चिम बङ्गालका श्रीकान्त मैती रहेका छन् । उनीहरूले चोरीको मोटरसाइकल प्रयोग गरेर ’मर्निङ वाक’ मा हिँडिरहेका महिलाहरूको सिक्री लुट्दै आएका थिए ।

यही असारको १ गते कपुरधारा र टोखामा दुई जना महिलाको सिक्री लुटेका उनीहरूले २० गतेसम्म आठ जनाको सिक्री लुटिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार