जिल्ला अस्पताल रामेछापमा कृतिम घटना अभ्यास

जिल्ला अस्पताल रामेछापमा कृतिम घटना अभ्यास

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजार नजिकै सवारी दुर्घटना भयो । आज(आइतबार) बिहान १० बजेको समयमा भएको मिनीबस दुर्घटनामा १० जना घाईते भए । घाईते मध्ये एक जनाको अस्पतालमा उपचारको क्रममा ज्यान गयो । घटनास्थलमा पुग्दा घाइतेहरु चिच्चाहट गर्दै थिए । कोहि रोडमा पछारिएका थिए । कोहि गाडीमुनी परेका थिए त कोहि रोड भन्दा तल झरेका थिए ।

एकै छिनमा प्रहरी घटना स्थलमा पुग्यो । रामेछाप अस्पतालमा फोन गरियो । एम्बुलेन्स बोलाईयो । केहि पत्रकारहरु घटनास्थलमा फोटो खिच्दै थिए । यति हुदाहुदै सडकभरी सवारी जाम भयो । मानिसको भिड बढ्न थाल्यो । कोहि रुदै थिए । कोहि बिरामीको पहिचान गर्न हेर्दै थिए ।

रेडक्रसकर्मीहरुले प्राथमिक उपचार गर्न थालिसकेका थिए । प्रहरी, स्थानीय, रेडक्रसकर्मी लगाएतको पहलमा घाइतेहरुको उद्धार गरियो । २ वटा एम्बुलेन्समा रामेछाप अस्पतालमा विरामी पु¥याईयो । अस्पताल पुग्दा रामेछाप अस्पतालका स्वास्थ्यकर्मीको टोली उपचारमा खटिएको थियो । एम्बुलेन्सबाट विरामी झिक्ने, विरामीको वर्गिकरण गर्ने र रातो, हरियो, पहेंलो रिवन विरामीको हातमा बाँध्दै विरामीलाई वर्गिकरण अनुसार आपतकालिन कक्षहरुमा पु¥याईयो । अस्पतालमा पनि सर्वसाधारणको दौडादौड र भिडभाड बढीरहेको थियो । दुर्घटनाबारे सोधखोज पनि चलिरहेको थियो ।

अस्पतालका सबै स्वास्थ्यकर्मी, उपलब्ध उपकरण, औषधि लगाएतको सक्दो परिचालन अस्पतालले ग¥यो । अस्पतालले जनाए अनुसार ३ जनालाई रेडजोनमा राखेर उपचार गरियो । ७ जनालाई एल्लो जोनमा राखेर उपचार गरियो । दुर्घटनाका घाइतेहरु कसैको टाउकोमा चोट थियो, कसैको हात खुट्टा भाँचिएका थिए, कतिको छातीमा चोट थियो । विरामीलाई आवश्यकता अनुसार एक्सरे, भिडियो एक्सरे, इसिजी लगाएतका प्रविधिको प्रयोगबाट समेत उपचार गरियो ।

यो साँच्चिकै दुर्घटना भने थिएन । सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेश अन्तर्गतको स्वास्थ्य निर्देशनालय हेटौडाको आयोजना तथा जिल्ला अस्पताल रामेछापको व्यवस्थापनमा गरिएको कृतिम घटना अभ्यास थियो ।
दुर्घटनाको बेला घटना व्यवस्थापन तथा उपचारमा स्थानीय अस्पतालको क्षमताको मुल्यांकन गर्न यो अभ्यास गरिएको हो ।

रामेछाप अस्पतालमा बाग्मति प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको यो पहिलो अभ्यास हो । अस्पतालको मानवीय, भौतिक तथा उपकरणीय क्षमता र सम्भावित दुर्घटनालाई हेरेर पहिलो पटक रामेछाप अस्पतालमा कृतिम अभ्यास गरिएको निर्देशनालयका डा.अमरदीप भारतीले बताउनुभयो । उहाँका अनुसार यस वर्ष निर्देशनालयले यस्तो अभ्यास बाग्मति प्रदेशको ३ वटा अस्पतालमा गरेको हो ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले आकस्मिक तरिकाले गरिएको कृतिम अभ्यासलाई हेर्दा रामेछाप अस्पतालको सेवा सुविधा राम्रो रहेको पाईएको बताउनुभयो । उहाँले अस्पतालले घाइते विरामीहरुलाई गर्ने रेस्पोन्स,सेवा सुविधा तथा उपचार राम्रो पाईएको बताउनुभयो ।

रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. गगन अधिकारीका अनुसार अस्पतालले प्रकोप व्यवस्थापन योजना बनाएको बताउनुभयो । अस्पतालमा आकस्मिक अवस्थामा चाहिने सबै सेवा दिन सक्षम रहेको उहाँले बताउनुभयो ।
घटना अभ्यासका बारेमा घटना व्यवस्थापनमा संलग्न विरामीहरुको अभिनय आर.बि.पी डब्लुका पदाधिकारीहरुले निर्वाह गर्नुभएको थियो । ,स्वास्थ्यकर्मी, रेडक्रसकर्मी, स्वास्थ्य निर्देशनालय,कृतिम अभ्यासमा सहभागी आर.बि.पी.डब्लुका पदाधिकारी र समाजसेवा साकोस रामेछापका पदाधिकारी सहित छलफल गरिएको थियो । छलफलबाट आएको सुझावका आधारमा अस्पतालको व्यवस्थापनलाई थप मजबुत बनाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार