रामेछापको गोकुलगंगामा गरिबी हटाउन तालिम तथा औजारहरु वितरण

रामेछापको गोकुलगंगामा गरिबी हटाउन तालिम तथा औजारहरु वितरण

रामेछापको गोकुलगंगा गाउँपालिकाले गरिबी हटाउन तालिम तथा औजारहरु वितरण गरेको छ । गाउँपालिकामा गरिब लक्षित कार्यक्रम अन्तरगत व्यावसायिक कृषि गर्न पशुपालनको तालिम दिने देखि कृषि औजार बनाउने अत्याधुनिक इलेकट्रोनिक उपकरण सम्मका सामाग्री गाउँ–गाउँमा पुगेका छन् ।

गाउँपालिका भित्र रहेका आर्थिक रूपले विपन्न, अल्पसङ्ख्यक, दलित, सीमान्तकृत तथा पछाडि परेका समुदायलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमबाट व्यावसायिक रूपमा बाख्रा तथा बङ्गुर पालन तालिम, बेमौसमी खेती तालिम, अत्याधुनिक प्रविधियुक्त आरान चलाउने तालिम, नौमती बाजा बजाउने तालिम, जुत्ता बनाउने तालिम लगायतका कार्यक्रम सञ्चालन भएका छन् ।

तालिम पश्चात् पशुपालनको तालिम लिने ७० जनालाई बाख्रा तथा बङ्गुर, बेमौसमी खेतीको तालिम लिने १ सय ८० जनालाई टनेल, नौमती बाजाको तालिम लिने ४० जनालाई नौमती बाजा, इलेकट्रोनिक आरान चलाउन तालिम लिने ७ जनालाई अत्याधुनिक इलेकट्रोनिक फलाम कुट्ने मेसिन, जुत्ता बनाउन तालिम लिनेलाई जुत्ता बनाउने मेसिन लगायतका सामाग्री समेत निःशुल्क उपलब्ध गराइएको गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको आर्थिक सहयोग र ग्रामिण विजनेश प्रमोशन प्रालिको प्राविधिक सहयोगमा उक्त सामाग्री वितरण गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार