रामेछाप नगरपालिकाले ल्यायो ७३ करोड ५८ लाखको बजेट

रामेछाप नगरपालिकाले ल्यायो ७३ करोड ५८ लाखको बजेट

रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ७३ करोड ५८ लाख ७३ हजार ६ सय ९७ रुपैयाँ ६६ पैसाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका उपाध्यक्ष बाल कुमारी कार्कीले नगरसभामा बजेट प्रस्तुत गर्नुभएको हो ।

रामेछाप नगरपालिकाको संघ, प्रदेशबाट प्राप्त हुने समानीकरण अनुदान, शशर्त अनुदान, विशेष अनुदान पुँजीगत, वित्तिय समानीकरण अनुदान, शशर्त अनुदान चालु, राजश्व बाँडफाँडबाट प्राप्त हुने मुल्य अभिवद्धि कर, अन्तशुल्क, सावारीसाधन कर र नगरपालिकाको विभिन्न शीर्षकबाट प्राप्त हुने आन्तरिक आयबाट ७३ करोड ५८ लाख ७३ हजार ६ सय ९७ रुपैयाँ ६६ पैसा आम्दानी हुने अनुमान गरिएको नगरले गरेको छ ।

त्यस्तै नगरकार्यपालिकाको कार्यालय, विषयगत शाखा, वडा कार्यालय तर्फ ४९ करोड, २८ लाख ८९ हजार ९ सय चालुतर्फ खर्च हुने अनुमान गरिएको छ भने पुँजीगततर्फ २४ करोड २९ लाख ८३ हजार ७ सय ९७ रुपैयाँ ६६ पैसा खर्च हुने अनुमान गरिएको छ । यसका साथै संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, गरिबसँग विश्वेश्वर कार्यक्रम लगायत विभिन्न कार्यक्रमहरुमा प्राप्त हुने रकमलाई कार्यक्रमको उद्धेश्य अनुरुप आम्दानी बाँधी खर्च गरिनेछ ।

विषय क्षेत्र अन्तर्गत सामाजिक विकासका लागि २ करोड ७५ लाख ३४ हजार ४ सय, स्वास्थ्य तर्फ ८७ लाख, शिक्षा तर्फ १ करोड ७ लाख महिला तथा बालबालिकातर्फ ८१ लाख ३४ हजार ४ सय विनियोजन गरेको छ । आर्थिक विकासका लागि १ करोड १० लाख, कृषि विकास तर्फ ४० लाख, पशुपंक्षी विकास तर्फ ४० लाख, राजश्व सहकारी, उद्योग तथा उपभोक्ता हित संरक्षण तर्फ ३० लाख विनियोजन गरेको छ । शुसासन तथा संस्थागत विकासतर्फ ११ लाख ६० हजार, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ ४६ लाख बजेट विनियोजन गरेको छ ।

पूर्वाधार विकासका लागि संघ तथा प्रदेश सशर्त, विशेष र समपुरक अनुदानबाट सञ्चालन हुने योजनाहरुको लागि १० करोड १ लाख ४६ हजार, संघ, प्रदेश र सडक बोर्डसँग साझोरीका लागि नगरले व्यहोर्नु पर्ने समपुरक कोषका लागि ४ करोड ९३ लाख, नगरस्तरिय योजना तथा कार्यक्रमका लागि २ करोड ९२ लाख ४० हजार, वडास्तरिय आयोजना तथा कार्यक्रमका लागि ५ करोड २२ लाख ९७ हजार ७ सय ९७ रुपैयाँ ६६ पैसा र विषयगत शाखा तर्फ १ करोड २० लाख विनियोजन गरी गरेको छ ।

कृषकले उत्पादन गरेको कृषि उपजलाई भण्डारण गर्नको लागि चिस्यान केन्द्र र जुनार खेतीमा बढी फोकस गरेर यो वर्षको योजनामा बजेट विनियोजन गरेको नगरप्रमुख लवश्री न्यौपानेले बताउनुभयो । सडक, खानेपानी, सिंचाई, भवन लगाएतका पूर्वाधार विकास एवम् स्थानिय आवश्यकता र प्राथमिकताको आधारमा वडा वस्तीस्तरबाट आएका आयोजना र कार्यक्रमहरु सञ्चालन गरिने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार