रामेछाप नगरपालिका–६ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछाप नगरपालिका–६ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछाप नगरपालिका वडा नं ६ ले चालु आर्थिक वर्ष २०७९/८० को सुरुदेखि हालसम्म सञ्चालन भएका वडा भित्रका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार (आज) सम्पन्न उक्त कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा वडाका सचिव प्रेम कुमारी पहाडीले जानकारी गराउनुभयो । वडाले आब २०७९/८० को ६७ लाख ३६ हजार ६ सय ३ रुपैयाँ बजेटले सबै योजनाका कामहरु पुरा गरेको वडा सचिव पहाडीले बताउनुभयो । वडाले यो अवद्यीमा २ लाख ६६ हजार ५ सय ५१ रुपैँया राजश्व संकलन गरेको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथी एवं रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले नगर तथा वडाबाट भैरहेका विकास निर्माणका कामहरुमा सधैँभरी नागरीकहरुले खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले नागरीकहरुले खबरदारी गरेमा धेरै बिग्रन लागेका कामहरुमा समेत सुधार आउने बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी थापा कार्कीले सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि संचालन गरिने सार्वजनिक सुनुवाइ कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिन वडालाई आग्रह गर्नुभयो । यस्ता कार्यक्रमहरुले सेवाग्राहीलाई सन्तुष्टि प्रदान गरी विश्वासको वातावरण कायम गर्न मद्धत पुग्ने उहाँले बताउनुभयो ।

रामेछाप नगरपालिकाका प्रबत्ता समिर कार्कीले नगरपालिकाले पछिल्लो समय धेरै राम्रा कामहरुको सुरुवात गरेको बताउनुभयो । नगरबाट भएका राम्रा कामहरुको तारिफ र नराम्रा कामहरुको खबरदारी गर्न उहाँले नागरीकहरुलाई अनुरोध गर्नुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरीकहरुले शिक्षा,स्वास्थ्य कृषी,पशुपालन,सडक,खानेपानी लगायत विभिन्न विषयहरुमा रहेर प्रश्न,जिज्ञास र गुनासोहरु राखेका थिए । सहभागीहरुको प्रश्नको जवाफ वडा नं ६ का वडाअध्यक्ष राजेश तामाङले दिनुभएको थियो ।

नागरीकहरुको प्रश्नको जवाफ दिदै उहाँले सार्वजनिक सुनुवाई कार्यक्रममा मात्रै नभएर वडाबाट प्रवाह भैरहेको हरेक कामहरुमा नागरीकहरुले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिन सक्ने बताउनुभयो । सम्वृद्ध वडा बनाउन नागरीकहरुको साथ र सहयोग अपरिहार्य रहेको पनि उहाँले बताउनुभयो । वडामा सबै पक्षसँग सहकार्य गरेर विकासका कामहरु अगाडी बढाइने उहाँले बताउनुभयो ।

कार्यक्रममा बज्र समाज नेपालका अध्यक्ष पूर्ण ब मगर,जनकल्याण माविका प्रधानाध्यापक बाल कुमार थापा मगर,नेपाली कांग्रेसका वडा समिति सचिव मान ब मगर,एमाले वडा कमिटीका सचिव दिल कुमार श्रेष्ठ र माओवादीका वडा कमिटी अध्यक्ष नारायण बाबु श्रेष्ठले सुझाव सहितको मन्तव्य राख्नुभएको थियो । उनिहरुले पहिलो पटक वडाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको भन्दै हरेक वर्ष यस्तो कार्यक्रम गर्न आग्रह गर्दै वडालाई विभिन्न सुझावहरु दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार