रामेछापमा लम्फी स्किन रोगको सङ्क्रमण फैलियो,६ हजार बढी पशु सङ्क्रमित

रामेछापमा लम्फी स्किन रोगको सङ्क्रमण फैलियो,६ हजार बढी पशु सङ्क्रमित

रामेछाप जिल्लामा पशुमा लाग्ने लम्फी स्किन रोगको सङ्क्रमण फैलिएको छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सम्पर्क कार्यालय रामेछापको तथ्याङ्क अनुसार सङ्क्रामक रोग लम्पी स्किन रोगबाट रामेछाप जिल्लाको सबै पालिकामा फैलिएको छ । रामेछाप जिल्ला भित्रका ८ वटा पालिकामा लम्फी स्किन रोगबाट ६ हजार सात सय ३८ पशु सङ्क्रमित भएका छन् । हाल सम्म ९७ पशुको मृत्यु भैसकेको सम्पर्क कार्यालय रामेछापका प्रमुख एवम् पशु प्राविधिक प्रकाश थापाले जानकारी दिनुभयो ।

सवैभन्दा बढी लिखु तामाकोसि गाउँपालिकामा २ हजार पशु संक्रमित भएका छन भने ५० वटा पशु मरेका छन् । त्यसपछि मन्थली नगरपालिकामा १५ सय संक्रमित हुँदा १३ वटा मरेका छन् । रामेछाप नगरपालिकामा १४ सय ७८ संक्रमित भएका छन् भने ९ वटा मरेका छन् । खाँडादेवी गाउँपालिकामा ९ सय १५ संक्रमित र ११ वटा मरेका छन् । गोकुलगंगा गाउँपालिकामा ६ सय पशु संक्रमित भएका छन्भने ४ वटा मरेका छन् । सुनापति गाउँपालिका १ सय ३० संक्रमित भएका छन् भने २ वटा मरेका छन् । दोरम्वा शैलुङ्ग गाउँपालिकामा ७० संक्रमित भएकामध्ये ४ वटा मरेका छन् भने अहिलेसम्म सवैभन्दा कम उमाकुण्ड गाउँपालिकामा ४५ वटा पशु संक्रमित भएका छन् भने ४ वटा मरेका छन् ।

यो रोगबाट पशुमा हुने मृत्युदर कम भए पनि दुहुना पशुको दूध उत्पादनमा ८० प्रतिशतसम्म ह्रास हुने हुँदा किसानलाई नोक्सानी हुने गरेको छ । रोगग्रस्त क्षेत्रमा निःसङ्क्रमण, उपचारलगायतका कार्य भइरहेको पनि कार्यालयले जनाएको छ । यसवर्ष गएको पुसदेखि नै पशुमा फाट्टफुट्ट रोगको सङ्क्रमण देखिन थालेको थियो ।

सम्पर्क कार्यालय रामेछापका प्रमुख एवम् पशु प्राविधिक थापाका अनुसार लम्पी स्किन रोग लागेका गाई/भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायत लक्षण देखिने बताउनुभयो । रोग लागेका पशुलाई चरनमा नलैजान तथा क्वरेन्टिनमा राखेर उपचार गर्न थापाकोे सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार