रामेछाप नगरपालिका-८ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछाप नगरपालिका-८ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछाप नगरपालिका वडा नं ८ ले चालु आर्थिक वर्ष २०७९/८० को सुरुदेखि हालसम्म सञ्चालन भएका वडा भित्रका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार (आज) सम्पन्न उक्त कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा वडाका सचिव दिपा बराल तामाङले जानकारी गराउनुभयो । वडाको संघ,प्रदेश र स्थानिय सहित जम्मा बजेट १० करोड २५ लाख ४१ हजार ७ सय २० रुपैयाँ रहेकोमा ३ करोड ३८ लाख ४३ हजार ७ सय २० रुपैँया खर्च भैसकेको छ । अब बाँकी रहेको ६ करोड ८६ लाख ९८ हजार रुपैयाँ भुक्तानीको अन्तिम चरण रहेको वडा सचिव तामाङले बताउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरीकहरुले कृषी,पशुपालन,सडक,खानेपानी सहित विभिन्न विषयहरुमा रहेर प्रश्न,जिज्ञास र गुनासोहरु राखेका थिए । सहभागीहरुको प्रश्नको जवाफ वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङले दिनुभएको थियो । नागरीकहरुको प्रश्नको जवाफ दिदै उहाँले वडाबसीको आवश्यकता,चाहना र माग अनुसार नै आफुले काम गर्दै आएको बताउनुभयो ।

वडाबाट प्रवाह भैरहेको हरेक कामहरुमा नागरीहरुले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिन सक्ने उहाँले बताउनुभयो । सम्वृद्ध वडा बनाउन यहाँका नागरीकहरुको साथ र सहयोग अपरिहार्य रहेको पनि उहाँले बताउनुभयो ।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले नगरपालिकाको केन्द्र समेत रहेको वडा नं ८ ले पहिलो पटक यो कार्यक्रम आयोजना गरेकोमा निकै खुशी लागेको बताउनुभयो । सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि निकै महत्वपुर्ण रहेको यो कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिन पनि उहाँले आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस रामेछाप नगपालिकाका प्रबक्ता हरिशचन्द्र घिमिरे,नेकपा एमाले रामेछाप नगरका उपसचिव कुबेर श्रेष्ठ,नेकपा माओवादी केन्द्र रामेछाप नगरका कोषाध्यक्ष सरोज कटुवाल लगायतले वडालाई विभिन्न सुझाव सहितको मन्तव्य दिनुभएको थियो । पहिलो पटक वडाले राजनितीक दलका प्रतिनिधी सहित सार्वजनिक सुनुवाई कार्यक्रम गरेको भन्दै उनिहरुले हरेक कार्यक्रमहरुमा आफुहरुलाई सहभागी गराउन आग्रह समेत गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार