सुरुङबाट चुहिएको पानी नरोकेपछि गुम्देलका स्थानियद्धारा तालाबन्दी

सुरुङबाट चुहिएको पानी नरोकेपछि गुम्देलका स्थानियद्धारा तालाबन्दी

लिखु २ जलविद्युत आयोजनाको सुरुङ चुहिएको १५ दिन बितिसक्दा पनि पानी नरोकिएपछि प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाको कार्यालयमा तालाबन्दी गरेका छन् । स्थानीयले सुरुङभन्दा तलको बसोवास गर्ने ४२ परिवारलाई अन्यत्र सार्नुपर्ने माग राखेका छन् ।

रामेछापको उमाकुण्ड १ गुम्देलको पेकरनासका बासिन्दाको भनाइ जस्तै लिखु २ आयोजनाले सुरुङमा पानी हालेपछि उक्त टोलमा जताततैबाट पानीको मूल फुटेको छ । पानीको मात्रा बढ्ने क्रममा छ । पहराहरुबाट पानी झरेको छ ।

खोला र खोल्सी परेको स्थानमा खोला नै बगेको स्थानीय विमला कार्कीले बताउनुभयो । आयोजनाले परिक्षणका लागि सुरुङमा पानी हालेदेखि उक्त गाउँमा त्रास फैलिएको छ । जताततै मूल फुटेका छन् । यसअघि कहिल्यै पानी नदेखिएको स्थानमा पानीको खोला भएपछि गाउँलेहरुले बस्ती सार्नका लागि याचना गरिरहेका छन् । तर आयोजनाले स्थानीको माग सम्बोधन गर्ने सुरसार गरेको छैन ।

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गाउँपालिका–१ काे गुम्देलमा निर्माणाधीन ५५ मेगावाट क्षमताको लिखु–२ जलविद्युत् आयोजनाका कारण स्थानीय नागरिकको भागदौड र चित्कार भएको बताउनुभयो । एमडी दुगड समूहको लगानीमा निर्माणाधीन आयोजनाले सुरुङमा पानी हालेपछि सुरुङबाट पानी चुहिन थालेकाले गुम्देलका आयोजना प्रभावित ४० भन्दा बढी घरपरिवार त्रासमा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार