रामेछाप मन्थलीमा रामेछाप साँस्कृतिक तथा सडक महोत्सवको रौनक

रामेछाप मन्थलीमा रामेछाप साँस्कृतिक तथा सडक महोत्सवको रौनक

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रामेछाप सास्कृतिक तथा सडक महोत्सव २०८० सुरु भएको छ । महोत्सवको उद्घाटन संघिय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम) ले गर्नुभयो । रामेछाप उद्योग बाणिज्य संघको अगुवाइमा शुक्रवारदेखि महोत्सव सुरु भएको हो ।

महोत्सवले जिल्लामा पर्यटन प्रवर्द्धन गर्न र सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । महोत्सवको पहिलो दिन शुक्रवार रामेछाप जिल्लाका विभिन्न स्थानमा रहेका माझी, हायु, सुनुवार, नेवार, मगर तामाङ लगायतका जात जातिहरूले आफ्नो संस्कृति झल्कने झाकी प्रदर्शन गरेका छन् ।

मन्थलीको देवकोटा चोकदेखि कृषि विकास बैङ्क सम्म मुख्य सडकमै स्टलहरू निर्माण गरिएको छ । ती स्टलहरूमा जिल्लाको विभिन्न स्थानमा उत्पादित कृषि उपज तथा वस्तुबाट बनेका परिकारहरू, दुग्धजन्य वस्तु तथा जडीबुटी जन्य वस्तुहरू प्रदर्शनीमा राखिएको छ ।

मुख्य आयोजक रामेछाप उद्योग बाणिज्य संघ रहेको उक्त कार्यक्रममा मुख्य प्रायोजक मन्थली नगरपालिका रहेको छ भने प्रायोजकको रुपमा रामेछाप नगरपालिका रहेको छ । त्यसैगरी सहयोगी संस्थाका रुपमा घरेलु तथा साना उद्योग कार्यालय रहेको छ भने सह–आयोजकमा रामेछाप होटल तथा पर्यटन ब्यवसायी संघ रहेको छ । महोत्सव शुक्रवार र शनिवार दुई दिन सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार