यौन दुर्व्यवहारका आरोपित रामेछाप वन डिभिजनका हाकिमको मन्त्रालय सरुवा

यौन दुर्व्यवहारका आरोपित रामेछाप वन डिभिजनका हाकिमको मन्त्रालय सरुवा

महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपित डिभिजन वन कार्यालय रामेछापका प्रमुख रामशरण गौतमको मन्त्रालय सरुवा भएको छ । आफ्नै कार्यालयमा कार्यरत महिला कर्मचारीमाथी दुर्व्यवहार गरेको आरोप लागेपछि गौतमकाे मन्त्रालयमा सरुवा भएकाे हो ।

गौतमविरुद्ध वन मन्त्रालयमा यौन दुर्व्यवहार गरेको आरोपसहित जिल्ला प्रशासन कार्यालय रामेछाप र वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशलाई बोधार्थ दिएर उजुरी परेको थियो । आरोपपछि छानविनमा परेका गौतम बुधबार मन्त्रालयमा हाजीर भएका छन् । आरोपित प्रमुख गौतमलाई मन्त्रालयमा तानेर उनको ठाउँमा जिल्ला वन कार्यलय चितवनका सहायक वन अधिकृत आठौँ तहका अमिर सागर भण्डारी रामेछाप आउने भएका छन् ।

डिभिजन वन कार्यालय रामेछापका प्रमुख गौतमले कार्यालयमा रहँदा, महिला कर्मचारीहरुलाई पटक–पटक यौन दुर्व्यवहार गर्ने महिलाहरुको मोबाइलमा अश्लील सामाग्री पठाउने, बोलीचालीमा अश्लील शब्द प्रयोग गर्ने, महिला कर्मचारीहरुलाई साँझ बिहान निजी आवासमा बोलाएर अश्लील शब्दले बोल्ने लगायतका क्रियाकलाप गर्ने गरेको भन्दै विभागमा बेनामी उजुरी परेको आधारमा उनीमाथि छानविन प्रकृया अघि बढाइएको हो ।

उजुरीका बारेमा डिभिजन वन अधिकृत गौतमसँग सम्पर्क गर्दा उनले आफूले जिल्लाको वन विकासमा काम गर्न लागेको थाहा पाएर आफुलाई षड्यन्त्र पूर्वक र दुर्नियतपुर्ण तरिकाले उक्त आरोप लागेको बताए । आफुलाई फसाउने नियतले बेनामी उजुरी दिएको आधारमा आफूमाथि निराधार र भ्रामक आरोप लागेको छानविन तथा अनुसन्धानमा सहजहोस भन्नका लागि आफु बुधबारै मन्त्रालयमा हाजिर भएको बताए । उनले भने आफूमाथि आरोप लागेको भए पनि थप अनुसन्धानका लागि भने आफूले सक्दो सहयोग गर्ने बताए ।

यस सम्बन्धमा रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले उजुरी परेको सत्य भएको भन्दै उजुरीको विषयमा कार्यालयका कर्मचारीसंग सोधपुछ गरी आवश्यक प्रकृया अगाडि बढाइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार