रामेछाप चनखुमा माघ ९ गते सोनाम ल्होछार विषेश सांस्कृतिक समारोह हुँदै

रामेछाप चनखुमा माघ ९ गते सोनाम ल्होछार विषेश सांस्कृतिक समारोह हुँदै

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर -१० चनखुमा `छैठौँ -वृहत् सोनाम ल्होछार सांस्कृतिक समारोह :२०७९´ हुने भएको छ । “तामाङ भाषा,कला धर्म र संस्कृति हाम्रो पहिचान ,यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान ” भन्ने मुल नाराको साथमा ह्याङ्ला ह्युल सामुदायिक संस्थाले गर्दै आइरहेको ल्होछार कार्यक्रम माघ ९ गते गर्न लागेको संस्थाको अध्यक्ष कुलमान योन्जनले जानकारी दिए ।

तामाङको १२ वटा वर्गमा प्रत्येक बर्षमा एउटा वर्गलाई विदाई गर्दै अर्कोलाई स्वागत गरेर सोनाम ल्होछार मान्ने गरेको छ । यसपटक बाघ वर्गलाई विदाई गर्दै बिरालो वर्गलाई स्वागत गरेर कार्यक्रम गर्न लागेको आयोजक संस्थाले बताएको छ ।

कार्यक्रममा विभिन्न ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति हुने र त्यहाँ उपस्तिथि दर्शकलाई कलाकारहरुले आफ्नो प्रस्तुति दिएर मनोरंजन दिलाउने छन् ´– संस्थाको सचीव रमेश योन्जनले भने -“कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति संगै स्थानीय कलाकार र ताम्बाहरुको डफु नाच पनि रहनेछ ।”

कार्यक्रममामा उपस्थितिलाई मनोरंजन दिन कलाकार बाबू जिम्बा,सुनिता लुङ्बा,तामाङ सेलो गायक पासाङ लामा,तिर्थ विरक्त पाख्रीन ,गायिका शर्मिला तामाङ लगायतका अन्य कलाकारहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । कार्यक्रममा मिस तामाङ २०२१ कि विजेता सफलता थीङ तामाङको पनि विषेश प्रस्तुति रहनेछ ।

चनखुमा २०७४ सालदेखि निरन्तर रूपमा ल्होछार कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रममा उपस्थिति हुनेहरुलाई तामाङ भेषभुषामा उपस्थिति रहन समेत आयोजक संस्थाले आग्रह गरेको छ । साथै यसपटक ड्रोन क्यामेराद्वारा ल्होछार कार्यक्रमको भिडियो कैद गरिने पनि आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार