जिल्ला अस्पताल रामेछाप न्युनतम सेवा मापदण्डमा उत्कृष्ट,अस्पतालले पायो ८४ प्रतिशत

जिल्ला अस्पताल रामेछाप न्युनतम सेवा मापदण्डमा उत्कृष्ट,अस्पतालले पायो ८४ प्रतिशत

न्यूनतम सेवा मापदण्ड पुरा गर्ने सरकारी अस्पतालमा जिल्ला अस्पताल रामेछापले ८४ प्रतिशत अंक पाएको छ । जिल्ला अस्पतालले न्यूनतम सेवा मापदण्ड (minimum service standard ) मा ८४ प्रतिशत अंक पाएको हो । विभिन्न सूचकका आधारमा मापन गरिँदा अस्पतालले ८४ प्रतिशत अंक पाएको हो । यो विगतको तुलनामा सुधारोन्मुख अंक हो ।

एक वर्ष अघिको मापन अनुसार ५७ प्रतिशत रहेकोमा अहिले ३० प्रतिशत बढेर ८४ प्रतिशत भएको हो । स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको आयोजना तथा जिल्ला अस्पताल रामेछापको सहकार्यमा भएको एक कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो । यसको मुल्याङ्कन स्वास्थ्य निर्देशनालयले गर्दछ । बाग्मती प्रदेशका स्वास्थ्य निर्देशनालयका सचिव बद्रि बहादुर खड्का,निर्देशक महेश्वर श्रेष्ठ र बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झा सहितको टिमले जिल्ला अस्पतालको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा अस्पतालको भवन, फोहोर व्यवस्थापन,औषधिको व्यवस्थापन, बिरामी उपचार लगायतका सूचकमा अस्पतालले राम्रो अंक पाएको बाग्मती प्रदेशका स्वास्थ्य निर्देशनालयका सचिव बद्रि बहादुर खड्काले बताउनुभयो । बाग्मती प्रदेशले जिल्ला अस्पतालको सेवा विस्तारका लागी धेरे काम गरेको भन्दै उहाँले थप सेवा विस्तार तथा अस्पतालको शैया बढाउने काममा आफुले पहल गर्ने बताउनुभयो ।

बाग्मती प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले केहि वर्ष अघिको जिल्ला अस्पताल र अहिलेको जिल्ला अस्पतालमा निकै परिवर्तन आएको देख्न पाउँदा खुशी लागेको बताउनुभयो । २०६४ सालमा स्वास्थ्य कार्यालय प्रमुख भएर रामेछापमा काम गरेको स्मरण गर्दै उहाँले हावा,पानी र वातावरणको हिसाबले जिल्ला अस्पताल रहेको क्षेत्र बिरामीका लागी एकदमै राम्रो रहेको बताउनुभयो । जिल्ला अस्पताल बाग्मती प्रदेशकै उत्कृष्ट अस्पताल भएको आफुले हेर्न चाहेको र यसका लागी आफु पनि लागिपर्ने उहाँले बताउनुभयो ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले जिल्ला अस्पतालको सेवा विस्तारसँगै विशेषज्ञ चिकित्सको व्यवस्थापन नगरपालिकाले गरेको बताउनुभयो । उहाँले नगरपालिका क्षेत्र भित्र रहेको जिल्ला अस्पताललाई नगरपालिकाले आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । न्युनतम सेवा मापदण्डमा सुधार गर्दै जाने जिल्ला अस्पताल रामेछापका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर गगन अधिकारीले बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले सबैको सहयोगले मात्र यो सम्भव भएको बताउनुभयो । ‘आज हामीले मेहनतको फल पाएका छौं । हामी धेरै खुशी छौं,उहाँले भन्नुभयो,‘सबैको सहयोगले यो सम्भव भएको हो, सबैप्रती धन्यवाद व्यक्त गर्दछु ।’

अस्पतालले अहिले थाइराइड मेसिन जडान सेवा,गर्भवती महिलाहरुको अप्रेसन सेवा,भेन्टिलेटर सहित सुविधायुक्त भवन, स्तरिय प्रयोगशाला, विशेषज्ञ चिकित्सक,सुरक्षित गर्भपतन सेवा, भिडियो एक्सरे, डिजिटल एक्सरे, ल्याब, ब्लड बैँक,सामाजिक सेवा ईकाई, चौबिसै घन्टे ल्याब र एक्सरे सेवा,एकद्धार संकट व्यवस्थापन केन्द्र,मातृ प्रतिक्षा गृह,इमरजेन्सी सेवा लगायतका सेवा प्रदान गर्दै आएको छ । अब छिट्टै डायलासिस सेवा पनि सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार