रामेछाप बजारमा छाडा कुकुर आतङ्क,नगरपालिका मौन

रामेछाप बजारमा छाडा कुकुर आतङ्क,नगरपालिका मौन

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार क्षेत्रमा कुकुर आतङ्क बढेको छ । बजारमा रहेका छाडा कुकुरको हुलले मानिसलाई झम्टने र टोक्ने गरेको छ । आईतबार बिहान रामेछाप बजार नजिकै स्थानिय भिमा श्रेष्ठले पालेको दुईवटा बंगुर कुकुरले टोकेर मारेको हो ।

छाडा कुकुरको हुलले खोरमा रहेका दुईवटा बंगुर मारेर लुस्दै गरेको अवस्थामा आफुले फेला पारेको भिमा श्रेष्ठले बताउनुभयो । केहि महिना अघि छाडा कुकुरको हुलले बजार नजिकै रहेको पालेवन टोलका ७ घरमा पालिएको खसी,बाख्रालाई टोकेको थियो । बजार क्षेत्रमा छाडा कुकुरहरुले बाटो हिँड्ने मानिसहरुलाई झम्टने र टोक्ने गरेका छन ।

रामेछाप बजारका स्थानिय जिवन श्रेष्ठले नगरपालिकाले छाडा कुकुर नियन्त्रण गर्न नसकेको बताउनुभयो । बजार क्षेत्रमा रहेका कुकुरहरुलाई बन्ध्याकरण नगरेसम्म बर्षेनी कुकुरको संख्या बढ्दै जाने हुँदा नगरपालिकाले थोरै बजेट नै छुट्याएर बन्ध्याकरण शिविर नै संचालन गर्नुपर्ने स्थानिय श्रेष्ठले बताउनुभयो । छाडा कुकुर नियन्त्रण गर्नुपर्या भन्दै स्थानियले नगरपालिकालाई बारम्बार आग्रह गर्दा पनि नगरपालिका भने मौन रहेको रामेछाप बजारका स्थानियले गुनासो गरेका छन ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले रामेछाप बजार क्षेत्रमा केहि महिनादेखी छाडा कुकुरको संख्या असाध्यै बढेको बताउनुभयो । उहाँले छाडा कुकुर कसरी नियन्त्रण गर्ने भन्ने बारेमा आफुहरु छलफलमै रहेको बताउनुभयो । छाडा कुकुरलाई मार्न नपाईने भन्दै उहाँले बन्ध्याकरणका लागी नगरपालिकाले तयारी गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार