वडावडामै पुगेर योजना सम्झौता गर्दै गोकुलगंगा गाउँपालिका

वडावडामै पुगेर योजना सम्झौता गर्दै गोकुलगंगा गाउँपालिका

रामेछापको गोकुलगंगा गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ । गाउँसभाबाट विनियोजन भएका योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न थालिएको गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का(दिनेश) ले बताउनुभयो । गाउँपालिकाबासीहरुलाई संभव भएसम्म सहज र सरल ढंगबाट घरदैलाेमै सेवा पुराउने उदेश्य र चाहना बमाेजिम वडा वडामै पुगेर योजना सम्झौता गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इञ्जिनियर,लेखा शाखाका कर्मचारी सहितको टोली वडामै पुगेर योजना सम्झौता तथा उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण गरिरहेका छन । एकैदिन सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि गाउँपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने मुख्य उद्देश्यले वडा–वडामै योजना सम्झौतालाई अभियानको रूपमा अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत होम बहादु्र थापाले बताउनुभयो ।

गाउँपालिकाले यसरी वडामा नै पुगेर योजना सम्झौता गर्दा उपभोक्ता समितिहरुले राहतको महसुस गरेका छन् । साथै योजना कार्यन्वयनदेखि बजेट भुक्तानी गर्नुपर्ने अवस्थामा आइपर्ने अल्झनहरुको विषयमा समेत जानकारी लिन पाउदा उपभोक्ता समितिहरुलाई गुणस्तरीय रुपमा योजनाहरु कार्यन्वयन गर्न थप हौसला मिलेको छ । वडाबाटै योजना सम्झौता हुन थालेपछि गाउँपालिकाबासीलाई सहज भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार