रामेछापमा निर्वाचनका लागि उच्च सुुरक्षा सतर्कता

रामेछापमा निर्वाचनका लागि उच्च सुुरक्षा सतर्कता

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा रामेछापमा उच्च सुरक्षा सतर्कता अपनाएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताउनुभयो । उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धादलीरहित बनाउनका लागि सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

जिल्लामा संवेदनशील मतदान स्थलको वर्गिकरण, सोही अनुसारको सुरक्षा योजना बनाएको, निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको परिचालनलाई प्रभावकारी बनाएको समेत उहाँले बताउनुभयो । निर्वाचनका बेला अप्रिय घटना हुन नदिन जिल्ला भरी मदिरा निषेध गर्नुका साथै घरेलु हात हतियारको प्रयोग लगायतका कुराहरुमा समेत संवेदनशील भएको प्रजिअ रेग्मीले बताउनुभयो ।

मतपेटिका, मतपत्र अन्य आवश्यक सामग्रीको ढुवानी, मतदान स्थलको अनुगमन र पूर्वाधार व्यवस्थापन समेत भएकोले निर्वाचनलाई सान्तिपूर्वक सम्पन्न गर्नका लागि घुम्ती टोली तथा सम्पर्क ब्यक्तिको व्यवस्थापन गरी सकिएको पनि उहाँले बताउनुभयो ।

निर्वाचनलाई स्वच्छ, निस्पक्ष र विश्वसनीय रुपमा शान्तिपूर्वक र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि स्थानीय सरकार, उम्मेदवार र आम नागरिकको समेत सहयोगको अपेक्षा गरिएको प्रजिअ रेग्मीले बताउनुभयो ।

रामेछापमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र ५ जना सहित २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभा क मा ११ जना र प्रदेशसभा ख मा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश क मा ८७ हजार ६३३ र प्रदेश ख मा ९२ हजार ४७३ जना गरी जिल्लामा एक लाख ८० हजार १०६ जना मतदाता रहेका छन् ।

जिल्लामा ९६ वटा मतदान स्थल र २२६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । ती मतदान केन्द्रको सुरक्षाको लागि करिव २५ सयको संख्यामा म्यादी प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार