रामेछाप बजारमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन नमूना मतदान

रामेछाप बजारमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन नमूना मतदान

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि रामेछापमा नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापले रामेछाप नगरपालिकाको रामेछाप बजार नजिकै रहेको गौरीशंकर क्याम्पसको प्राङग्णमा आज नमूना मतदान गरेको हो । निर्वाचनमा प्रयोग हुने निर्वाचन चिन्ह बाहेकका चिन्ह प्रयोग गरी छापिएको नमूना मतपत्रमा मतदान गरिएको हो । मत बदर नहोस भनि सिकाइका रूपमा नमूना मतदान गरिएको हो ।

स्थानीयबासी, जनप्रतिनिधि, कर्मचारी , पत्रकार लगायतले नमुना मतदान गरेका थिए । आजसम्म जिल्लाको ८ वटा स्थानीय तहमध्ये ३ वटा स्थानीय तहमा नमुना मतदान गरेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछाप नगरपालिका,मन्थली नगरपालिका र उमाकुण्ड गाउँपालिकामा नमूना मतदान गरिएको निर्वाचन कार्यालयले जनाएको छ । आसन्न निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालय रामेछापले मतदाता शिक्षालाई प्रभावकारी ढंगले अघि बढाएको छ । मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै अघिल्लो स्थानीय निर्वाचनमा आलोचना भएपछि नमूना मतदानलाई प्राथमिकता दिइएको हो ।

आम मतदाताले खसाएको मत बदर हुन नदिन अहिले निर्वाचन कार्यालयले नमुना मतदान गराइरहेको छ भने जिल्लाका ६४ वटै वडामा निर्वाचन शिक्षाका लागि महिला स्वयम सेविकालाई परिचालन गरेको छ । रामेछापमा ९६ वटा मतदान स्थल र २२६ वटा मतदान केन्द्र रहेको छ । यो निर्वाचनमा रामेछापका १ लाख ८० हजार बढी मतदाताले मतदान गर्न पाउने छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार