रामेछापमा अब वडाबाटै राष्ट्रिय परिचयपत्र बनाउन सकिने

रामेछापमा अब वडाबाटै राष्ट्रिय परिचयपत्र बनाउन सकिने

रामेछाप जिल्लामा शुक्रबारदेखि राष्ट्रिय परिचयपत्र बनाउने अभियान सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जिल्ला प्रशासन कार्यालयको समन्वयमा उक्त अभियान सुरु गरेको हो ।

शुक्रबार मन्थलीमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक तीर्थराज भट्टराईले अभियान अन्तर्गत जिल्लाका ६४ वटै वडा र जिल्ला प्रशासन कार्यालयमा विषेश टोली परिचालन हुने बताउनुभयो । एउटा वडामा बढीमा १५ दिनभित्र अधिकांश नागरिकको राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने काम हुने भन्दै उहाँले त्यसका लागि एकै साथ ३५ वटा टोली परिचालन गर्ने तयारी भएको बताउनुभयो ।

वडा केन्द्र वा पालिकाले तय गरेको स्थानमा रहेर टोलीले काम गर्ने बताइएको छ । एउटा वडाको अधिकांशको परिचयपत्रको फोटो खिचाउने काम सकेपछि टोली अर्को स्थानमा पुग्ने उहाँले बताउनुभयो ।

जिल्लामा करिब ३ महिनाको अवधिमा राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्ने, सामाजिक सुरक्षा र घटना दर्ताको कामसमेत हुने बताउनुभयो । । कतिपय नागरिकका झुत्रा नागरिकता, विवाह दर्ता जस्ता समस्या रहेकोमा त्यस्ता समस्या पनि राष्ट्रिय परिचयपत्र बनाउने क्रममा सुधार हुने भट्टराईले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले रामेछाप जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउनका लागि हुने गरेको भीड अन्त्य गर्न विभागसँगको सहकार्यमा अभियान संचालन भएको बताउनुभयो ।

विभागले हालसम्म देशभर करिब १ करोड नागरिकको विववरण संकलन गरिसकेको छ । विभागका निर्देशक कृष्ण पौडेलका अनुसार ४१ जिल्लामा परिचयपत्रको काम सकिएको र १३ जिल्लामा संचालन भइरहेको छ। विभागले परिचयपत्रका लागि फोटो खिचाए पनि हालसम्म कार्ड वितरण भने गरेको छैन । पौडेलका अनुसार ३० लाख कार्ड आइपुगेकोले अब विभागले वितरणको समेत तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार