अब जिल्ला अस्पताल रामेछापमै ब्लड बैँक,रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने

अब जिल्ला अस्पताल रामेछापमै ब्लड बैँक,रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को स्थापना भएको छ । संंविधान दिवसको अवसर पारेर आज जिल्ला अस्पतालमै रामेछाप नगरपालिकाको सहयोगमा ब्लड बैँकको स्थापना गरिएको हो । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले ब्लड बैँकको उद्धघाटन गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर आफुहरुले जिल्ला अस्पतालमै ब्लड बैँकको स्थापना गरेको बताउनुभयो । अस्पतालमा आउने जटिल किसिमका बिरामीलाई आवश्यक पर्ने रगत अब सहज रुपमा जिल्ला अस्पतालमै उपलब्ध हुने जिल्ला अस्पताल रामेछापका निमिक्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर गगन अधिकारीले बताउनुभयो । यहि दशैँ तिहारपछि जिल्ला अस्पतालमै डाइलसिस सेवा सुरु गर्ने तयारी भैरहेको पनि उहाँले बताउनुभयो ।

जिल्ला अस्पतालको हाल संचालनमा रहेको सेवाहरुलाई अझ सुदृढ गर्दै लैजाने क्रममा रहेको अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । जिल्ला अस्पतालमै ब्लड बैंकको स्थापना भएपछि प्रसुती गराउने आमाहरु, दुर्घटनामा परेका घाइते तथा अपरेशन गर्नुपर्ने बिरामीको लागि तत्काल आवश्यक रगत व्यवस्था गर्न समस्या नपर्ने उहाँले बताउनुभयो ।

अस्पतालले अहिले विभिन्न रोगहरुको अपरेशन,आकस्मिक प्रसुतिजन्य शल्यक्रिया लगायत विभिन्न सेवा सुविधाहरु थप गरेसँगै उपचार गर्न आउने सेवाग्राहीको चाप पनि बढेको अध्यक्ष पाख्रिनले उहाँले बताउनुभयो । यसैगरी संंविधान दिवसको अवसरमा जिल्ला अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार