गोकुलगंगा गाउँपालिकालाई हेर्नलायक बनाउँछु : अध्यक्ष काजीबहादुर खड्का

गोकुलगंगा गाउँपालिकालाई हेर्नलायक बनाउँछु : अध्यक्ष काजीबहादुर खड्का

रामेछापका स्थानीय तहमध्ये कान्छो अध्यक्षका रुपमा निर्वाचित काजीबहादुर खड्का (दीनेश) गाउँपालिकालाई समृद्ध बनाउने योजनाका साथ कम्मर कसेर लागेका छन् । पालिकालाई कृषि, पशुपक्षीजन्य उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ लागिपरेका खड्कासँग पालिकाका समग्र विषयमा भएको कुराकानीको सारसङ्क्षेप ।

तपाइँको गाउँपालिकाले यो वर्ष कस्तो नीति तथा कार्यक्रम ल्याएको छ ? के कुरालाई प्राथमिकता दिनुभएको छ ? 
हामी निर्वाचित भएर आएपछि संवैधानिक प्रावधान अनुसार गत असार ८ गते नीति तथा कार्यक्रम ल्याएका छौँ । १० गते बजेट पनि पारित गरिसकेका छौँ । नीति तथा कार्यक्रममा हामीले २ वटा नारा अघि सारेका छौँ । एउटा “हाम्रो दायित्व अठोट र प्रतिवद्धता गाउँपालिका विकास सबैको ऐक्यवद्धता” । गाउँपालिका बनाउने हो भने जनप्रतिनिधको मात्र होइन, कार्यन्वयन गर्ने र गराउने दुबै पक्षबीचको समझदारी र समन्वयनमा मात्र सम्भव हुन्छ । त्यस्तै अर्को “शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार हाम्रो गाउँपालिका निर्माणको आधार” भनेका छौँ ।
प्राथमिकताको कुरा गर्दा शिक्षालाई पहिलो नम्बरमा राखेका छौँ । चुनावी घोषणा-पत्रमा पनि मैले शिक्षालाई नै जोड दिएको थिएँ । त्यही आधारमा टेकेर शिक्षालाई सम्भव भएसम्म बढी प्राथमिकता दिनुपर्छ, परिवर्तन गनुपर्छ, गुणस्तरीय शिक्षा दिनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । विद्यालयलाई सकेसम्म आधुनिक ढङ्गले अगाडि बढाउने योजना छ । पालिकाका ८ वटा कमजोर बालकक्षालाई फेरि सुचारु गर्ने निणर्य गरेका छौँ । विद्यालयमा खाजाका कुरा छन् । विद्यार्थीहरूलाई राज्यले दिने १५ रुपियाँले गाउँमै उत्पादित अर्गानिक खाजा दिनुपर्छ  भन्ने मुख्य उद्देश्य हो ।
दोस्रो प्राथमिकतामा स्वास्थ्य छ । स्वास्थ्य केन्द्रबाटसामान्य चेकजाँच-उपचार र राज्यले दिने औषधी समयमै बिरामीले पाउने कुरा सहज हुनुपर्छ । त्यस्तै कृषि, पूर्वाधार, खानेपानी, सडक, सिँचाई पनि प्राथमिकतामा छन् । ७० बुँदामा नीति तथा कार्यक्रम समेटिएको छ । जनअपेक्षा र आवश्यकता अनुसार थप काम गर्छाैँ ।

कृषिक्षेत्रलाई दीर्घकालीन र परिणामुखी बनाउन के सोच्नुभएको छ ? 
विगतको अध्ययन गर्दा तीनै तहका सरकारले कृषिक्षेत्रमा प्रशस्त लगानी र प्राथमिकता दिएको देखिन्छ । तर, हामीकहाँ कृषिमा सन्तोषजनक प्रतिफल देखिएन । अनुदान लिएर बाटो लाग्नेहरू धेरै भए । त्यसकारण हामीले फरक ढंङ्गले हेर्नुपर्नेछ । साँच्चै कृषि गर्छु, उदाहरणीय काम गर्छु भन्ने उद्देश्य बोकेकालाई दिनुपर्छ भन्ने सोचेका छौँ । राम्रा मानिस पहिचान गरेर कृषिमा १ वर्षकै बजेट दिएर उत्पादनमुखी बनाउँदा हुन्छ कि भन्ने सोच छ । रोजिरोटीकै लागि कृषिकर्म गरिरहेको, जमिन बाँझो नराखी काम गरिरहेका किसानलाई प्रोत्साहन गर्ने उद्देश्य र योजना बनाएका छौँ ।
गाउँकै उत्पादनबाट विद्यार्थीलाई खाजा खुवाउनु पर्छ भनेर हामीले आवाज उठाएका छौँ । विद्यालयमा क्यान्टिन खोलेर स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिने सोच छ । स्थानीयस्तरमै आत्मनिर्भर बन्न र कृषि उत्पादन व्यावसायिक बन्न यसले मद्दत गर्छ भन्ने हो । त्यस्तै पुरानो आलुजोनका कुरा छ । आलु बाहेक अरु कुरा त्यति बिक्री भएको थाहा छैन । अब थोरै जग्गामा तरकारी रोप्ने कृषकलाई कम्ती १ रोपनी जग्गामा रोप्ने, कम्पनी दर्ता गरेर २-४ वटा होइन २० माथि बाख्रा पालन गर्ने, ४-५ वटै भैसी पालेर दूध बेच्नेहरूको पहिचान गर्दै कार्यक्रम बढाउनुपर्ने छ । कृषिमा आत्मनिर्भर हुनेमात्र होइन कृषि उत्पादन निर्यात गरेर पालिकालाई समृद्ध बनाउने कुरामा हाम्रो विशेष जोड छ ।

सडक सुधार र निर्माणबारे तपाइँको योजना के हो ? 
हाम्रो गाउँपालिकामा भौगोलिक कठिनाइ छन् । वर्षामा पहिरो यातायातका लागि समस्या बनेको छ । पहिरो पन्छाएर फर्किँदा फेरि बाटो बिग्रिसकेको हुन्छ । कच्ची सडक मर्मत र निर्माण गर्नुपर्नेछ ।  प्रमुख बाटो र शाखाबाटोका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वयन गरेर तुरुन्तै स्टमेट तयार गरेर डिपिआर तयार गर्ने काम अगाडि बढाएका छौँ ।

पालिकाले दलित समुदाय, वृद्धवृद्धाका निम्ति प्रभावकारी योजना नबनाएको गुनासो सुनिन्छ । तपाइँको धारणा के हो ?
हामीले दलित समुदायका बस्ती निर्माण गर्ने, सरसफाइलाई ध्यान दिने, दलित समुदाय पुग्ने गोरेटो बाटो निर्माण गर्ने, एकीकृत दलित बस्ती निर्माण गर्ने उद्देश्य राखेका छौँ । त्यस्तै चेतनामूलक कार्यक्रम सञ्चालन गर्न बजेट नै छुट्याएका छौँ । र, अन्य पूर्वाधारका योजनाहरू पनि बनाएका छौँ ।
जेष्ठ नागरिकलाई हामीले उच्च सम्मान गरेका छौँ । जस्तैः सामाजिक सुरक्षा भत्ता टोल र घरघरमै वितरण गर्न बैंक तथा संस्थाहरूसँग समन्वयन गर्ने उद्देश्य राखेका छौँ । उपचारका लागि एम्बुलेन्स सेवा सुरु गर्ने कुरामा जोड दिएका छौँ ।

युवा रोजगारीबारे के भन्नुहुन्छ ? 
युवाहरूका लागि कृषिक्षेत्र वा उत्पादनमुखी काम के गर्न सकिन्छ गर्छाैँ । आफ्नै ठाउँमा रोजगार बढाउने गरी युवाहरुलाई प्रोत्साहन दिने कुरामा पालिकाले साथ दिन्छ । व्यवयायी बनाउन उद्योग खोल्ने, जडिबुटी प्रशोधन तथा खनिज उत्खनन गर्ने योजना लिएर आए पालिकाले सहजीकरण गर्छ । पालिका परिवर्तनका लागि, विकास निर्माणका लागि, हाम्रो र राम्रो गाउँपालिका निर्माणका लागि युवाको सहयोग अनिवार्य छ । पालिकाले युवासहित विभिन्न जनशक्तिलाई तालिम दिने, चेतनामूलक कार्यक्रम चलाउनेछौँ । माछा, अण्डा, मासु, लसुन, किवी जस्ता कुरामा पालिकालाई आत्मनिर्भर बनाउनै पर्छ भनेका छौँ ।

पालिकाको नीति तथा कार्यक्रम सफल बनाउन बजेट विनियोजनको मापदण्ड कसरी तय गर्ने सोच छ ?
७१ करोड ६४ लाख ९९ हजारको बजेट ल्याएका छौँ । सबै शिर्षकलाई समान ढङ्गले लाने उद्देश्य छ । ७१ करोड भनेपनि विकास तथा पूर्वधारको बजेट जम्मा ७-८ करोड मात्रै हो । अन्य पशु, कृषि तथा भैपरी आउने र विभिन्न शीर्षकमा छुट्टिएका हुन्छन् । ६ वटा वडाका योजनाहरूमा सम्बोधन भएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्ता, अफिसियल खर्च, शिक्षा-स्वास्थ्यदेखि कर्मचारीका तलव भत्ता सबै यही  बजेटबाट पुर्‍याउनुपर्ने अवस्था छ ।

नीति, कार्यक्रम र बजेटप्रति जनअपेक्षा र समीक्षा कस्तो छ ?
योजना र कार्यक्रम बनाउन कर्मचारीले राम्रो भूमिका खेलेका छन् । जनमानसले हामीबाट ठूलो आशा राखेका छन् । सबैले सर्वसम्मत भूमिका खेल्नुपर्छ । बजेट सीमित हुँदा योजना नपुगेका ठाउँहरूमा भोलिका दिनमा क्रमश गर्दै जानेछौँ । कार्यक्रमहरूमा सबैको सहयोग र समर्थन छ ।

अन्त्यमा के भन्नुहुन्छ ? 
गाउँपालिकाका समग्र विकास, नीति तथा कार्यक्रम र बजेटका बारेमा पालिकाबासीले सल्लाह र सुझाव दिनुहुनेछ भन्ने अपेक्षा छ । हाम्रो योजनामाथि आउने कमेण्टलाई सुझावका रुपमा लिनेछु । पालिकाको समृद्धिका लागि सबैले सल्लाह र सुझाव दिनुहुन अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार