प्रदेश र सङ्घको निर्वाचनका लागि १० हजारभन्दा धेरै मतदानस्थल

प्रदेश र सङ्घको निर्वाचनका लागि १० हजारभन्दा धेरै मतदानस्थल

निर्वाचन आयोगले आगामी मङ्सिर ४ मा हुने प्रदेश र सङ्घको निर्वाचनका लागि १० हजारभन्दा धेरै मतदानस्थल कायम भएको जनाएको छ । मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०७७ बमोजिम निर्वाचन आयोगले केही मतदानस्थल पुनरावलोकन गरेको जनाएको छ ।

जिल्लाभरका मतदानस्थल पुनरावलोकन हुँदा १ हजार १ सय २३ मतदान स्थलको त्रुटि सच्याइएको, साविकका ३ सय ६५ मतदानस्थलबाट सबै मतदाता स्थानान्तरण गरी ३ सय ६४ मतदानस्थल निर्धारण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

१ सय ६३ मतदानस्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी १ सय ६९ मतदान स्थल निर्धारण गरिनुका साथै २८ वटा मतदानस्थलका सबै मतदातालाई २८ वटै मतदान स्थलमा र १५ मतदानस्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदान स्थलमा गाभिएको प्रवक्ता शर्माले बताउनुभयो ।

यसो गर्दा देशभरका मतदानस्थलको सङ्ख्या १० हजार ८ सय ८८ पुगेको छ । यसअघि देशभरका जम्मा १० हजार ७ सय ५६ मतदान स्थल रहेका थिए । मतदान स्थल पुनरावलोकन भएपछि स्थानीय तहको निर्वाचन, २०७९ को समयमा मतदान गर्नका लागि बास बस्नुपर्ने, निकै टाढा टाढासम्म हिँड्नुपर्ने लगायतगुनासोसम्बोधन भएको र मतदातालाई मतदान स्थलसम्मको पहुँच सजिलो हुने आयोगले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार