सरकार र आन्दोलनरत विद्यालय कर्मचारीबीच सहमति

सरकार र आन्दोलनरत विद्यालय कर्मचारीबीच सहमति

सरकार र आन्दोलनरत विद्यालय कर्मचारीबीच सहमति भएको छ । भदौ १ गतेदेखि आन्दोलनमा रहेका सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासङ्घ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे हो ।

सिंहदरवारमा बसेको त्रीपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायक (लेखापाल) लाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरूको लागि श्रेणीविहीन सरहको तलब दिने सहमति जुटेको परिषद्का महासचिव शान्तिनाथ योगीले बताउनुभयो ।

यसअघि भएका सहमतिहरूमा पनि अर्थमन्त्रालयले बजेट नदिएकोले समस्या भएको भन्दै अर्थ मन्त्रालयसहित वार्ता हुनुपर्ने परिषद्ले अडान लिएपछि भोलि अर्थ मन्त्रालयसहित वार्ता हुने महासचिव योगीले बताउनुभयो । आन्दोलनलाई सहमतिमा मात्र नभएर व्यावहारिक रुपमा नै निर्णयात्मक बनाउनको लागि अर्थमन्त्रालयको भूमिका सकारात्मक हुनुपर्ने परिषद्को भनाइ छ ।

विद्यालय कर्मचारीहरू भदौ १ गतेबाट आन्दोलनमा भएपनि भदौ १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक विद्यालयहरूमा तालाबन्दी गर्न थालेपछि १३ गते सरकारले वार्तामा आउन आह्वान गरेको थियो । वार्ताका लागि तयार भएपछि विद्यालय बन्दको कार्यक्रम फिर्ता लिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार