रामेछाप बजारमा कुकुर आतङ्क,छाडा कुकुरले पालेवनमा खसी,बाख्रालाई टोक्यो

रामेछाप बजारमा कुकुर आतङ्क,छाडा कुकुरले पालेवनमा खसी,बाख्रालाई टोक्यो

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार क्षेत्रमा कुकुर आतङ्क बढेको छ । बजारमा रहेका छाडा कुकुरको हुलले मानिसलाई झम्टने र टोक्ने गरेको छ । आज सोमबार बिहान रामेछाप बजारबाट गएको छाडा कुकुरको हुलले बजार नजिकै रहेको पालेवन टोलका ७ घरमा पालिएको खसी,बाख्रालाई टोकेको पालेवनका स्थानिय तुलसा कार्कीले बताउनुभयो ।

१०÷११ वटा कुकुरको हुल पालेवन टोलमा प्रवेश गरेर खसी,बाख्रालाई टोक्दै हिँडेको पालेवनका अर्का स्थानिय धु्रव बस्नेतले बताउनुभयो । कुकुरको हुलले पालेवनका तुलसा कार्की,नरदेवी कार्की,गरिराज श्रेष्ठ,धु्रव बस्नेत,विष्णु महतारा,हरि ब आले लगायतले पालेको १० वटा भन्दा बढी खसी,बाख्रालाई टोकेको हो । छाडा कुकुरले खसी,बाख्राको टाउको,खुट्टा र पेटमा टोकेको छ ।

बजारको छाडा कुकुरहरु गाउँमा आएर खसी,बाख्रालाई टोकेको भन्दै पालेवनका स्थानियले नगरपालिकाले छाडा कुकुर किन ? नियन्त्रण नगरको भन्दै विरोध जनाएका छन । पालेवनका स्थानिय विष्णु महताराले कुकुरले टोकेको खसी,बाख्रा मरेमा क्षतिपूर्ती नगरपालिकाले दिनुपर्ने बताउनुभयो ।

छाडा कुकुरले टोकेको खसी,बाख्राको उपचार गर्न रामेछाप नगरपालिकाले पशु प्राविधिकलाई पालेवन टोलमा पठाएको छ । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले रामेछाप बजार क्षेत्रमा केहि महिनादेखी छाडा कुकुरको संख्या असाध्यै बढेको बताउनुभयो । उहाँले छाडा कुकुर कसरी नियन्त्रण गर्ने भन्ने बारेमा आफुहरु छलफलमै रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार