एमाले रामेछापले स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्द लागेका नेतालाई कारबाही गर्ने

एमाले रामेछापले स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्द लागेका नेतालाई कारबाही गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापको चौथो पूर्ण बैठकले स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई हराउन लागेकाहरुलाई कारबाहीसहित विभिन्न निर्णय गरेको छ ।

एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठको अध्यक्षतामा र पार्टीका उप-महासचिव पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा साउन ७ र ८ गते मन्थलीमा बसेको बैठकले स्थानीय निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको विरुद्दमा उभिएका नेता कार्यकर्ताहरुलाई कारबाही गरेको हो ।

स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध प्रस्तुत हुने भएर साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका नेताहरुमा मन्थली नगर कमिटीको सिफारिसमा तत्कालीन नगर कमिटी सचिव राजु कार्की, सदस्य रवि माझी र गोपाल थापा मगर रहेका छन् ।

त्यस्तै, लिखु तामाकोशी गाउँपालिका वडा नं. ५ मा विपक्षी पार्टीको उम्मेद्वार बनेका अम्बर बहादुर खड्का र प्रस्तावक समर्थकलाई निष्काशन गरिएको छ । मन्थली १३ का विदुर चौहान, महेन्द्र पुरी र प्रेम गिरीलाई जिम्मेवारीबाट निलम्बन गरि स्पष्टीकरण सोधिएको छ ।

वडा नं. १३ मै स्वतन्त्र उम्मेद्वार बनेका तत्कालिन जिल्ला सदस्य भगवती चौहान, सल्लाहकार सदस्य कृष्ण पौडेललाई निष्काशन गरिएको छ ।

अन्यका हकमा सम्बन्धित कमिटीको उजुरीका आधारमा सम्बन्धित कमिटीलाई नै प्रमाणसहित काराबाहीका लागी माथिल्लो कमिटीमा सिफारिस गर्न निर्देशन दिएको छ ।

बैठकले निर्वाचनको दौरानमा भएका उपलब्धि र कमजोर पक्षहरु सम्बन्धमा घनिभूत छलफल गरि पार्टीलाई राजनैतिक वैचारिक र सांगठनिक
पक्षहरुमा थप सुदृढ र एकतावद्ध बनाउन आवश्यक रहेको निष्कर्ष सहित साउन र भदौ महिनाभित्र जिल्ला, पालिका र वडा तहमा प्रशिक्षण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । प्रशिक्षण कार्यक्रममा वागमती प्रदेश कमिटीका नेताको पनि कार्यक्षेत्र निर्धारण गरिएको छ।

त्यस्तै, बैठकले विधान अनुसार अवधि पुगेका सबै जनवर्गीय संगठनका सम्मेलन भदौ मसान्त भित्र सम्पन्न गर्न निर्देशन पनि दिएको छ ।

एमाले रामेछापका उपसचिव समेत रहेका प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीका अनुसार बैठकले पार्टीको सदस्यता नविकरण भदौ १० गते भित्र गरिसक्न मातहतका कमिटी र सबै सदस्यहरुलाई आह्वान पनि गरेको छ ।

सोही बैठकले मन्थलीस्थित मदन आश्रीत स्मृती भवनको नाममा रहेको आफ्नै जग्गामा पार्टी कार्यालयको भवन निर्माणको सुरुवात गरिएकाले पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुलाई सहयोग गर्न आह्वान पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार