रामेछाप बजारमा सिसी क्यामेरा जडान गर्न स्थानिय र प्रहरीको माग

रामेछाप बजारमा सिसी क्यामेरा जडान गर्न स्थानिय र प्रहरीको माग

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा सिसी क्यामेरा जडान गर्न स्थानिय र प्रहरीले माग गरेका छन । रामेछाप नगरपालिकाको के्रन्द्र समेत रहेको रामेछाप बजारमा सिसी क्यामेरा जडान नहुँदा विभिन्न समस्याहरु हुने गरेको छ ।

रातको समयमा चोरी तथा डकैतीका घटनाहरु भैहाले चोर पक्ता लगाउन निकै समस्या हुने भन्दै नगरपालिकाले छिटोभन्दा छिटो सिसी क्यामेरा जडान गर्नुपर्ने आवश्यकता रहेको प्रहरी चौकी रामेछाप डाँडाका असई दिनेश प्रसाद चौलागाँइले बताउनुभयो । उहाँले भन्नुभयो,‘पछिल्लो समय धेरै ठाउँहरुमा रातको समयमा चोरी हुने गरेको छ । रामेछाप बजारमा सिसी क्यामेरा भैदिए हामीलाई बजारको सुरक्षा र निगरानी गर्न धेरै सहज हुने थियो ।’

रामेछाप बजारबाट नजिकै भालुखोप डाँडामा केहि महिना अघि विभिन्न व्यक्तिहरुको घर,पसल,विद्यालय तथा स्वास्थ्य चौकीमा चोरी भएको थियो । रामेछाप बजारमा पनि रातको समयमा चोरी हुने जोखिम धेरै रहेको वडा नं ८ का निवर्तमान वडाअध्यक्ष केदार कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो,‘सिसी क्यामेरा जडान भए बजारमा हुने अपराधिक गतिबिधी नियन्त्रण गर्न सहज हुने छ । ’

रामेछाप बजारमा सिसी क्यामेरा जडान गर्ने योजना रामेछाप नगरपालिकाले केही वर्ष अघि नै बनाएको भएपनि सिसी क्यामेरा जडानको काम सुरु हुन सकेन । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले साँघुटार सेलेघाट सडक आयोजनाको काम धमाधम भैरहेको भन्दै उक्त काम अब तत्कालै बजारमा सुरु गरिने र यहि मंसिर भित्रमा बजारमा काम सम्पन्न भएपश्चात मात्र सिसी क्यामेरा जडान हुने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार