सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैै

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैै

सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दैछन् ।अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार सबै प्रदेशले हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । जसअनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् ।

प्रदेश सरकारले आफ्नो कार्यकालको अन्तिम बजेट आज एकै दिन प्रस्तुत गर्न लागेका हुन् ।बजेटमा केही वितरणमुखी र धेरैजसो पुरानै कार्यक्रम तथा योजना समेट्ने प्रदेश सरकारको तयारी छ । प्रदेश१ सरकारले ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश१ को नीति तथा कार्यक्रममा कृषि क्षेत्र मुख्य प्राथमिकतामा रहेको थियो ।

मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षकै हाराहारी झन्डै ३४ अर्बको बजेट ल्याउँदैछ ।त्यस्तै, वाग्मती प्रदेश सरकारले सङ्घीय र प्रादेशिक चुनावलाई लक्षित गरी ठूलो आकारको बजेट ल्याउँदैछ । चालु आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको वाग्मती सरकारले बढाएर बजेट ल्याउन लागेको हो ।

गण्डकी प्रदेश सरकारले पनि चुनाव केन्द्रित बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षका लागि ३० अर्ब ९० करोडको बजेट ल्याएको गण्डकीले झन्डै ६ अर्ब बढाउने तयारी गरेको छ । यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि आउँदो वर्षको बजेटको आकार बढाउने तयारी गरेको छ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको बजेट ४१ अर्बको रहेको थियो ।

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षकै हाराहारीमा बजेट सार्वजनिक गर्दैछ । चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ३६ अर्ब ५४ करोड बराबरको बजेट ल्याएको थियो । यस्तै, सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको भन्दा केही बजेट बढाएर ल्याउने तयारी छ । आउँदो आर्थिक वर्षका लागि ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी छ । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशले ३० अर्ब ३३ करोडको बजेट ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार