रामेछापमा पहिलो पटक जुनारको बीमा,किसानलाई फाईदा

रामेछापमा पहिलो पटक जुनारको बीमा,किसानलाई फाईदा

जुनार खेतीको नामले प्रसिद्धि कमाएको रामेछाप जिल्लामा पहिलो पटक जुनारको बीमा गरिएको छ । विभिन्न रोग,किरा,हावाहुरी,असिना पानीले धेरै नै क्षती पुर्याउँदै आएको जुनारमा बीमा कार्यक्रम सुरु भएपछि किसानलाई फाईदा पुग्ने भएको छ । आइएमई जनरल इन्स्योरेन्सले रामेछापमा पहिलो पटक जुनारको बीमा गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोनमार्फत आज रामेछाप नगरपालिका वडा नं ६ पुरानागाउँका ३ जना जुनार कृषकहरुले लगाएको जुनारको बोट गणना गरी बीमा गरिएको आईएमई जनरल इन्स्योरेन्स मन्थलीका शाखा प्रमुख विपिन भट्टराईले जानकारी दिनुभयो ।

वडा नं ६ पुरानागाउँका शेर बहादुर तमाङले लगाएका २३५ बोट, हेम बहादुर तमाङले लगाएका २५० बोट र पृथे तमाङले लगाएका १३० बोट जुनारको बीमालेख आज किसानको बगैंचमा नै गएर हस्तान्तरण गरिएको हो ।

जुनारको पीसीआर रिपोर्ट राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटा प्रयोगशालामा परीक्षण गराउँदा नेगेटिभ नतिजा आएपछि बगैंचाको जुनारको बोट स्वस्थ भएको प्रमाणित भए अनुसार बीमा गरिएको प्रधानमन्त्री आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैरेले जानकारी दिनुभयो ।

परियोजना कार्यालयले जुनारको बगैंचामा रोग लागन नदिन किसानको जुनार बगैंचामा गएर विषादी छर्न १० जनाको टोली बनाएको छ । कुनै कारणबाट जुनार खेतीमा हानी नोक्सानी भएमा अधिकतम बीमाङ्क रकमको सिमा भित्र रही वास्तविक क्षतिको ९० प्रतिशत रकम भुक्तानी हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार