सेलेघाट साँघुटार सडक आयोजनालाई छिटो काम सक्न रामेछाप नगरपालिकाको निर्देशन

सेलेघाट साँघुटार सडक आयोजनालाई छिटो काम सक्न रामेछाप नगरपालिकाको निर्देशन

रामेछापको रामेछाप नगरपालिकाले साँघुटार सेलेघाट सडक आयोजनालाई छिटो भन्दा छिटो काम सक्न निर्देशन दिएको छ ।

सेलेघाट साँघुटार सडक निर्माणका लागि रामेछाप नगरपालिका प्रमुख नर ब थापा मगरको संयाेजकत्वमा सडक निर्माणकाे ठेक्का जिम्मा लिएकाे भारतिय कम्पनी TCIL का प्रमुख तथा सराेकारवालाहरुकाे उपस्थितिमा छलफल गरी तत्काल सडक निर्माण कार्य गर्ने प्रतिबद्धता सहितकाे निर्णय गरिएको छ ।

रामेछाप नगरपालिकामा आज जनप्रतिनिधि,राजनीति दल,पत्रकार,आयोजना प्रमुख सहितको छलफलमा नगर प्रमुख नर ब थापा मगरले यतिका वर्ष भैसक्दा पनि आयोजनाले निकै सुस्त गतिमा काम गरेको भन्दै समयमै काम सक्न आयोजनालाई आग्रह गर्नुभयो ।

यहि आयोजनाको भर परेकै कारण रामेछाप बजारको सडक अस्तव्यस्त भएको भन्दै उहाँले सडक निर्माण,मुआब्जा वितरणको काम तत्काल अघि बढाउन आग्रह गर्नुभयो ।

सडक निर्माणकाे ठेक्का जिम्मा लिएकाे भारतिय कम्पनी TCIL का प्रमुख एके चौधरीले समयमै सडक निर्माणको काम सक्ने बताउनुभयो । नेपालमा सडक निर्माणको जिम्मा लिएको मुख्य ठेकेदारले समयमै काम नगरिँदा काम सुस्त भएको चौधरीको भनाइ छ ।

आयोजनाका प्रमुख ईश्वर कार्कीले सडक निर्माणको काम २० प्रतिशत सकिएको बताउनुभयो । अब बाँकी काम पनि २०२३ भित्रै सकिने गरि अघि बढ्ने उहाँले बताउनुभयो ।

सेलेघाट रामेछाप बजार हुँदै साँघुटारसम्म पिच हुने ५० किलोमीटर सडकको काम केहि महिनादेखि बन्द छ ।

सडक आयोजनामा काम गर्ने पेटी ठेकेदारहरुले आफुहरुले काम गरेको पैसा नपाएको भन्दै काम ठप्प पारेर बसेका छ्न । पैसा नपाएसम्म कुनै पनि हालतमा काम अघि नबढाउने स्थानीय ठेकेदार सुवास थापाले बताउनुभयो ।

सेलेघाट साँघुटार सडक आयोजनाको काम ७ वटा पेटी ठेकेदारहरुले गर्दै आएका थिए ।उनीहरुले ६ महिना अघि आयोजनाको कार्यालयमा काम गरेको रकम नपाएको भन्दै ताला लगाएका थिए । सोही समयदेखि नै सडक निर्माणको काम बन्द छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार