नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीपछि झन्डै डेढ वर्षदेखि बन्द बस सेवा हिजोदेखि पुनः सञ्चालनमा आएको हो ।
भारतको उत्तर प्रदेश परिवहन निगमको बस दिल्लीबाट हिजो बिहान यात्रुसहित महेन्द्रनगर आइपुगेको छ । यात्रु, चालक र सहचालक सबैलाई स्वास्थ्य जाँचको मापदण्ड पूरा गरेर प्रवेश दिइएको महाकाली यातायात प्रालिका अध्यक्ष डम्मरराज पन्तले बताउनुभयो ।
भारतबाट नेपाल आएका नेपालीले नाकामै रहेको सुविधाअनुसार एन्टिजेन परीक्षण गराउनुपर्नेछ भने भारतीयले ७२ घण्टाभित्रको पीसीआर परीक्षणसँगै दुवै डोज खोप लगाएको कागज देखाउनुपर्ने उहाँले जानकारी दिनुभयो । कोरोना महामारी अघि महेन्द्रनगरबाट दिल्ली र देहरादुनसम्म नौवटा बस नियमित चलिरहेका थिए ।