चोरी भएको सुनका गहना खरिद गरेको आरोपमा रामेछाप प्रहरीले मन्थलीका थप दुई जना सुनचाँदी पसल सञ्चालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार अस्मिता श्रेष्ठ माझीको जाहेरीका आधारमा दायर चोरीसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा चोरी भएको सुनको गहना खरिद गरेको देखिएपछि दुई जना सुनचाँदी व्यवसायीलाई पक्राउ गरिएको हो।
प्रहरीले मन्थली नगरपालिका–१ स्थित दिपलक्ष्मी सुनचाँदी पसलका सञ्चालक ३३ वर्षीय डिलबहादुर रसाइली र सोही वडामा रहेको सुबिना सुनचाँदी पसलका सञ्चालक २८ वर्षीया निशा विश्वकर्मालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार डिलबहादुर रसाइलीको पसलबाट पीडितको कानबाट निकालिएको सुनको रिङ दुई थान बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले जारी गरेको प्रेस विज्ञप्तिमा चोरीको सुन खरिद गर्ने अन्य व्यक्तिहरूबारे समेत अनुसन्धान भइरहेको जनाइएको छ।


