रामेछापको उमाकुण्ड गाउँपालिका–१ लाछेवरमा एकल महिलालाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
प्रहरीका अनुसार उमाकुण्ड गाउँपालिका–१ लाछेवरमा दुई नाबालिका छोरीसहित बस्दै आएकी ४९ वर्षीया एकल महिलालाई सोही स्थानका ६० वर्षीय फुर्छिरी थामीले गत भदौ ५ गते जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोप छ।
पीडित महिलाले प्रतिकार गरेपछि थामी घटनास्थलबाट भागी फरार भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले खोजतलास गर्ने क्रममा थामीलाई भदौ ६ गते उमाकुण्ड गाउँपालिका–१ स्थित फितान्दिङ्गबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
पक्राउ परेका थामीविरुद्ध रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


