गोकुलगंगाका नागरिकले केएमसीमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने

गोकुलगंगाका नागरिकले केएमसीमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने

रामेछापको गोकुलगंगा गाउँपालिकाका नागरिकले काठमाडौं मेडिकल कलेज (केएमसी) का अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन् । गोकुलगंगा गाउँपालिका र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडबीच भएको सम्झौताअनुसार गाउँपालिकाका बासिन्दालाई सिनामंगल र भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा छुट सुविधा उपलब्ध हुने भएको हो ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार गाउँपालिकामा बसोबास गर्ने स्वास्थ्य बीमा गरेका नागरिकले नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य उपचारसम्बन्धी सुविधा, स्वास्थ्य बीमा, आमा सुरक्षा, विपन्न नागरिक औषधि उपचार कोषलगायतका सुविधा उपयोग गरिसकेपछि सम्झौताअनुसार थप सहुलियत पाउनेछन् ।

स्वास्थ्य बीमामा आबद्ध नभएका तथा बीमा भए पनि बीमा क्रियाशील हुनुअघिको अवधिका बिरामीले समेत यो सुविधा पाउने गाउँपालिकाले जनाएको छ ।

सम्झौताअनुसार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराउँदा २५ प्रतिशत र भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गराउँदा ५० प्रतिशत छुट उपलब्ध हुनेछ । छुट सामान्य उपचार तथा सम्झौतामा समेटिएका अस्पताल सेवामा लागू हुनेछ ।

सहुलियत लिन अस्पताल जाने बिरामीले गोकुलगंगा गाउँपालिका कार्यालय वा सम्बन्धित वडाको सिफारिससहित आफ्नो ठेगाना खुलेको परिचयपत्र र नागरिकताको प्रमाणपत्र लिएर जानुपर्नेछ । १६ वर्षमुनिका बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि अनिवार्य गरिएको छ ।

तर आईभीएफ, प्लास्टिक तथा कस्मेटिक सर्जरी, क्याबिनमा बसेर उपचार गर्ने सेवा, औषधि, इम्प्लान्ट, सर्जिकल तथा कन्सुमेबल सामग्रीलगायतका सेवामा छुट लागू हुने छैन ।

गाउँपालिकाको यो व्यवस्थाले आर्थिक अवस्था कमजोर भएका तथा काठमाडौंमा उपचारका लागि पुग्ने गोकुलगंगा गाउँपालिकाका नागरिकलाई उपचार खर्चमा राहत पुग्ने अपेक्षा गरिएको छ ।

काठमाडौं मेडिकल कलेजले पछिल्लो समय विभिन्न स्थानीय तह तथा संस्थासँग सम्झौता गरी नागरिकलाई उपचारमा सहुलियत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार