रामेछापको लिखु तामाकोशी गाउँपालिकाका नागरिकले काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्।
गाउँपालिका र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडबीच भएको सम्झौताअनुसार दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार गराउँदा असोज मसान्तसम्म पहिलो प्राथमिकताका आधारमा ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
त्यस्तै, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट पाइनेछ। सम्झौताअनुसार ओपीडी कार्ड निःशुल्क उपलब्ध हुनेछ भने सामान्य बेड, आईसीयू तथा ओटी, ल्याब, सीटी स्क्यान, एमआरआई, एक्स–रे, ईसीजी, फिजियोथेरापी र डेन्टललगायत अधिकांश स्वास्थ्य सेवामा २५ प्रतिशत छुट दिइनेछ।
छुट सुविधा लिन गाउँपालिकाको परिचयपत्र र नेपाली नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ। बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि आवश्यक पर्ने लिखु तामाकोशी गाउँपालिकाले जनाएको छ ।



